कछुवा गतिमा चमेलिया परियोजना

इनेप्लिज २०७२ असार १४ गते ३:३५ मा प्रकाशित

Hydropowerभीमदत्तनगर, १४ असार । दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत् आयोजना कहिलेसम्म सम्पन्न हुने भन्नेमा अझै अन्योल कायमै रहेको छ ।

सात वर्षअघि निर्माण कार्य सुरु भएको दार्चुलाको शिखर–४ बलाचमा निर्माणाधीन ३० मेघावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना पूरा हुने समय अझै अनिश्चित बनेको छ । सुरुवातमा रु आठ अर्ब ५० लाख रकम लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको पछिल्लो लागत १५ अर्ब ६ करोड रुपैयाँ पुगेको आयोजनाले जनाएको छ ।

नयाँ कार्यतालिकामा सिभिल, इलेक्ट्रो मेकानिकल ठेकेदार, प्राधिकरण र परामर्शदाता सम्मिलित ‘ज्वाइन्ट कोअर्डिनेटेड वर्किङ कमिटी’का अनुसार मार्च २०१६ मा निर्माण सम्पन्न हुने छ । सन् २००७ बाट सुरु भएको आयोजना सन् २०११ मा सम्पन्न गर्ने सम्झौता भएको थियो । लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको चमेलिया जलविद्युत् आयोजनाको काम ठप्प भएको लामो समय बितिसक्दासमेत अझै सञ्चालन हुनसकेको छैन ।

आयोजना सम्पन्न भएपछि वार्षिक रुपमा १८ करोड युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । यो आयोजना पूरा भए दार्चुला र बैतडीसँगै सुदुरपश्चिमले यसको लाभ लिने छ । मुख्यतयाः लामो समयदेखि निर्माणाधीन रहेको चमेलिया जलविद्युत् आयोजना बन्न नसक्दा जिल्लाले पाउने राजस्वसमेत गुमाउनु परेको छ । राजनीतिक दलका नेता, कार्यकर्ता र माथिल्लो तहका कर्मचारीले कमाउने धन्दा चलाएकाले आयोजनाको निर्माण कार्य पूरा हुन नसकेको स्थानीयले आरोप लगाएका छन् ।

प्रतिक्रिया