छब्बीस हेक्टर सार्वजनिक जग्गालाई जङ्गल बनाइने

इनेप्लिज २०७२ असार १३ गते ४:४४ मा प्रकाशित

सर्लाही, १३ असार । जिल्ला वन कार्यालयले वन दशक कार्यक्रमअन्तर्गत सर्लाहीको २६ हेक्टर सार्वजनिक जग्गालाई जङ्गल बनाउने तयारी गरेको छ ।

जङ्गल क्षेत्र नभएका पाँच गाविसका जमिनमा विभिन्न काठ जातका बिरुवा रोप्ने तयारी गरिएको जिल्ला वन अधिकृत केदार दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार किसनपुर, कविलासी र वसन्तपुरमा छ–छ हेक्टर तथा बेला र ब्रह्मपुरी गाविसमा चार–चार हेक्टर क्षेत्रफल सार्वजनिक जग्गालाई वन क्षेत्र बनाउन लागिएको हो ।

त्यसैगरी यस वर्ष जिल्ला वन कार्यालयले जिल्लाभर १३ लाख ७२ हजार मसला, टिक, साल, कदम, अमला, हर्रो, बर्रोलगायत काठ र जडीबुटी जातका बिरुवा वितरण गर्ने भएको छ । “पानी नपरेर बिरुवा रोप्न केही ढिला भइसकेको छ”, दाहालले भन्नुभयो, “पानी पर्नेेबित्तिकै बिरुवा वितरण पनि सुरु गर्नेछौँ ।” एक लाख २५ हजार ९४८ हेक्टर क्षेत्रफल रहेको सर्लाहीमा हाल २९ हजार ३६२ हेक्टर वन क्षेत्र छ ।

प्रतिक्रिया