वर्षा ढिला हुँदा म्याग्दीमा धान रोपाइँ प्रभावित

इनेप्लिज २०७२ असार १२ गते १०:५४ मा प्रकाशित

Myagdi_district_locationम्याग्दी, १२ असार । पर्याप्त वर्षा नभएका कारण यो वर्ष म्याग्दीमा धान रोपाइँ प्रभावित बनेको छ । असारको सुरुवातसँगै धान रोपाइँ सुरु भए पनि पर्याप्त वर्षा नभएकाले रोपाइँ प्रभावित बनेको हो ।

यहाँका प्रमुख खाद्य बालीका रुपमा रहेको धान खेतीका लागि सिँचाइ सुविधा पुगेको र खोलानालाको नजिक रहेका खेतमा धमाधम रोपाइँ भइरहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“पर्याप्त वर्षा नभएकाले लक्ष्य अनुरुप रोपाइँ भएको छैन, अहिलेसम्म करिब छ प्रतिशतमात्रै रोपाइँ सकिएको छ”, उहाँले भन्नुभयो ।

जिल्लामा कुल तीन हजार ८९५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जिल्लाको उच्च पहाडी केही गाविसबाहेक अधिकांश क्षेत्रमा धान खेती हुँदै आएको छ ।

विशेष गरी पिप्ले, भगवती, पात्लेखेत, अर्मन, बाबियाचौर, कुहुँ, ताकम, बेगलगायतका गाविससहित बेनी नगरपालिका क्षेत्र धान खेतीका लागि पकेट क्षेत्र हुन् ।

जिल्लामा स्थानीय जातका गौरी, मार्सी, ताकमारे, भट्टे र छमरुङ, अन्नपूर्ण तीन, खुमल चार, खुमल १०, लुम्ले दुईलगायतका उन्नत जातका धान रोप्दै आएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया