ग्रामीण पहुँच कार्यक्रम सफलताउन्मुख

इनेप्लिज २०७२ असार १२ गते १०:५२ मा प्रकाशित

काठमाडौँ, १२ असार । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ग्रामीण जनताको जीवनस्तर सुधार गर्ने उद्देश्यले १४ जिल्लामा लागू गरेको ग्रामीण पहुँच कार्यक्रमले सफलता प्राप्त गरेको छ ।

मन्त्रालयले बेलायत सरकारको सहयोगमा सो कार्यक्रम दैलेख, डोटी, अछाम, बाजुरा, कालीकोट, जुम्ला, हुम्ला, मुगु, झापा, मोरङ, सङ्खुवासभा, सिन्धुपाल्चोक, पर्वत र डोटीमा सञ्चालन गरेको हो । ती जिल्लाका जनताको आर्थिक सुधार ल्याउने र गरिब बासिन्दाको जीवनस्तर सुधार ल्याउने लक्ष्य राखिएको छ । सो कार्यक्रमका लागि चालु आवमा रु एक अर्ब चार करोड दुई लाख रकम खर्च गर्ने योजना राखिएको छ ।

बहुवर्षीय कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको सो कार्यक्रममा स्थानीय जनताको सहभागिताका आर्थिक गतिविधि सञ्चालन गरिँदै आएको छ । मन्त्रालयका सचिव डा सोमलाल सुवेदीका अनुसार सो कार्यक्रममा बेलायत सरकारले ३६.४५ मिलियन पाउन्ड एक मुष्ट खर्च गर्ने लक्ष्य राखेको छ ।

कृषि क्षेत्रको सुधार, ग्रामीण खानेपानी तथा सरसफाइलगायत कार्यक्रम सञ्चालन गर्ने र वित्तीय पहुँच अगाडि बढाउने लक्ष्य सो कार्यक्रमले राखेकाले स्थानीयस्तरमा कार्यक्रमको सफलता प्राप्त भएको सचिव सुवेदीले राससलाई जानकारी दिनुभयो ।

सो कार्यक्रममार्फत स्थानीयवासीले जीवनस्तरमा उल्लेख्य सुधार लक्ष्य मन्त्रालयको छ । कार्यक्रम सन् २०१३ अक्टोबरदेखि सुरु भई सन् २०१७ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ ।

यस्तै मन्त्रालयले सञ्चालन गरेको स्थानीय सडक सुधार कार्यक्रम पनि प्रभावकारी रुपमा अगाडि बढेको मन्त्रालयले जनाएको छ । गरिब, विपन्न र सामाजिक रुपले पिछडिएका ग्रामीण जनताको जीवनस्तर सुधार गर्ने उक्त कार्यक्रमको लक्ष्य रहेको छ ।

खोटाङ, रामेछाप, ओखलढुङ्गा र सिन्धुलीमा सो कार्यक्रम सञ्चालन गरिएको छ । सन् २०१४ देखि सुरु भएको उक्त कार्यक्रम २०१८ सम्म सञ्चालन हुनेछ । रु तीन अर्ब ५८ करोड कुल लागत रहेको सो कार्यक्रममा नेपाल सरकारले रु एक अर्ब ४६ करोड तथा स्वीस सरकारले रु दुई अर्ब १२ करोड खर्च गर्ने लक्ष्य राखेका छन् । सडक आयोजनामार्फत ग्रामीण क्षेत्रलाई सहरसँग जोड्ने सो कार्यक्रमको लक्ष्य छ ।

प्रतिक्रिया