भक्तपुर, १२ असार । उच्चमाध्यमिक शिक्षा परिषद्ले यही असार १ गतेदेखि देशका ६८ जिल्लामा सञ्चालन गरेको कक्षा ११ को परीक्षा आज सम्पन्न भएको छ ।
परिषद्का उपाध्यक्ष चैतन्य शर्माले कक्षा ११ को परीक्षा सबैतिर शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभयो । देशभरका ६८ जिल्लामा सञ्चालित परीक्षामा तीन लाख ८६ हजार २९३ परीक्षार्थीको सहभागिता थियो ।
त्यसैगरी परिषद्ले भूकम्प प्रभावित सात जिल्लामा रोकिएको कक्षा १२ को परीक्षा आगामी असार १४ गते सोमबारदेखि सञ्चालन गर्ने भएको छ । परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले भूकम्पबाट अतिप्रभावितगोरखा, धादिङ नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा भने यही असार १४ गतेदेखि परीक्षा सञ्चालन हुने जानकारी दिनुभयो । सात जिल्लामा १९ हजार १९६ जना परीक्षार्थीे सहभागी हुने बताइएको छ ।
त्यसैगरी ती सात जिल्लामा कक्षा ११ को परीक्षा भने असार २४ गतेदेखि सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षामा २१ हजार ५५८ परीक्षार्थीको सहभागिता रहने जनाइएको छ ।
प्रतिक्रिया