नेप्सेमा १२ अङ्कको वृद्धि

इनेप्लिज २०७२ असार १२ गते १०:४९ मा प्रकाशित

काठमाडौँ, १२ असार । यो साताको नेप्से परिसूचकमा पहिलो दिनको तुलनामा १२.४१ अङ्कले बढेको छ ।

गत साता नेप्से ३.७५ अङ्कले घटेर अन्तिम दिन ९२४.६० अङ्कमा पुगेको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता परिसूचक ९३०.३८ अङ्कमा पुगेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका सात हजार ४३५ कारोबारबाट रु एक अर्ब पाँच करोड ९१ लाख ९४ हजार बराबरका २७ लाख ७५ हजार ९१० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ७.८५ प्रतिशत बढी हो । गत साता १५१ सात ५८ कारोबारबाट रु ९८ करोड ५७ लाख १८ हजार बराबरका २८ लाख ९५ हजार ८३० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.५७ अङ्कले बढेर १९९.०० अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक अग्रस्थानमा रहेको छ । कारोबार भएको सेयर सङ्ख्याका आधारमा नविल ब्यालेन्स फण्ड अग्रस्थानमा छ ।

त्यसैगरी कारोबार सङ्ख्याका आधारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

यस साता गरिमा विकास बैंकको ११ लाख २२ हजार हकप्रद सेयर र मितेरी डेभलपमेन्ट बैंकको तीन लाख २५ हजार ३७ बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया