यार्सा सङ्कलनमा गिरावट

इनेप्लिज २०७२ असार १२ गते २:२७ मा प्रकाशित

yarsagumba0.gifम्याग्दी, ११ असार । यो वर्ष म्याग्दीमा यार्सा सङ्कलनमा गिरावट आएको छ ।

बहुमूल्य जडीबुटी यार्सा सङ्कलनमा अघिल्लो वर्षको तुलनामा धेरै गिरावट आएको हो । अघिल्लो आवमा २३ किलो यार्सा निकासी भएकामा यो वर्षको अहिलेसम्म सात किलो मात्र यार्सा सङ्कलनपूर्जी जारी भएको जिल्ला वन कार्यालयले जनाएको छ ।

सात किलोको सङ्कलनपूर्जी जारी भएकोमध्ये साढे तीन किलोमात्रै यार्सा निकासी भइसकेको निमित्त जिल्ला वन अधिकृत अजयविक्रम मानन्धरले जानकारी दिनुभयो । यो वर्ष यार्सा सङ्कलन गर्ने समयमा हिउँ धेरै नपग्लिएको र वर्षा भएको कारण न्यून मात्रामा यार्सा सङ्कलन भएको हुनसक्ने उहाँको भनाइ छ ।

यो वर्षदेखि यार्सा सङ्कलनका लागि सङ्कलनकर्ताले समेत परिचयपत्र बनाउनुपर्ने झन्झटिलो व्यवस्थाको कारणले समेत यार्सा सङ्कलनमा कमी आएको जडीबुटी सङ्कलनकर्ताको भनाइ छ । सङ्कलनका लागि झन्झटिलो प्रक्रिया र भूकम्पको कारण व्यवसायीहरु यार्सा खरिदका लागि गाउँमा नपुगेपछि यार्सा सङ्कलन प्रभावित बनेको गुर्जाका जडीबुटी व्यवसायी झकबहादुर छन्त्यालले बताउनुभयो ।

म्याग्दीको गुर्जा, मुदी, लुलाङ, मल्कबाङ, कुईनेमङ्गले, चिमखोला, दानालगायत गाविसको माथिल्लो भेगमा यार्सा सङ्कलन हुने गरिएको छ । औषधिलगायत अन्य प्रयोजनका लागि अन्तर्राष्ट्रिय बजारमा यार्साको माग बढ्दो क्रममा रहेपनि यो वर्ष भने यासाको सङ्कलनदेखि बजारीकरणमा समेत गिरावट आएको छ ।

जिल्ला वन कार्यालयका अनुसार गत वर्ष जिल्लाबाट २३ किलो यार्सा निकासी भएको थियो । यार्सा सङ्कलनका लागि प्रतिकिलो रु १० हजार राजस्व तिरेर व्यवसायीले इजाजत लिने र सङ्कलनकर्ताबाट खरिद गरी निकासी गर्दै आएका छन् ।

प्रतिक्रिया