इलाममा अझै पाठ्यपुस्तक अभाव

इनेप्लिज २०७२ असार १२ गते २:२६ मा प्रकाशित

booksइलाम, १२ असार । शैक्षिकसत्र सुरु भएको झन्डै दुई महिना बितिसक्दा पनि इलाममा अझै पर्याप्तरुपमा पाठ्यपुस्तक आउन सकेको छैन ।

शैक्षिकसत्रको सुरुवातमै विद्यार्थीको हात–हातमा पुस्तक पुर्‍याउने लक्ष्य राखिएपनि अझैसम्म पुस्तक पुग्न सकेको छैन ।

जिल्लामा समयमै पुस्तक पुर्‍याउन खुलेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको डिपोसमेत पुस्तक अपुग हुँदाहुँदै बन्द भइसकेको छ ।

तेह्रथुम बुक्स एन्ड स्टेसनरीका प्रबन्धक टङ्क धमलाले शैक्षिकसत्र सुरु भएयता जिल्लामा कक्षा ९ र १० को शिक्षा, अर्थशास्त्र पुस्तक एकैपटक नआएको बताउनुभयो । ‘जहिल्यै शिक्षा र अर्थशास्त्र पुस्तक अभाव हुन्छ, यी दुई विषयका पुस्तक अहिलेसम्म कहिल्यै पनि समयमा आउँदैनन्,’ धमलाले भन्नुभयो ।

कक्षा ९ को लेखा, कक्षा ८ को नेपाली एक हजार पाँच सय, अङ्ग्रेजी तीन/चार सय, कक्षा ७ को पेसा व्यवसाय आठ सय थान पुस्तक अभाव छ । जिल्लामा रहेको साझा प्रकाशनको शाखा कार्यालय बन्द भएपछि जनक शिक्षा सामग्री केन्द्रले जिल्लामा डिपो सञ्चालन गरेको थियो । डिपोले एक/दुई पटक पुस्तक ल्याएर विद्यालयहरूमा वितरण गरेको थियो । त्यसपछि डिपो बन्द भएपछि अहिले पुस्तक अभाव देखिएको हो ।

जिल्ला शिक्षा कार्यालयले पाठ्यपुस्तक अभाव नहोस् भनेर शैक्षिकसत्रको सुरुमै विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा दिएको थियो । जिल्ला शिक्षा कार्यालयले प्राथमिक तहमा अध्ययनरत २३ हजार ३३ जना विद्यार्थीका लागि रु २७ लाख ५० हजार ९३४ निकासा दिएको छ ।

निम्नमाध्यमिक तहमा १६ हजार ८१३ विद्यार्थीका लागि रु ५६ लाख ३२ हजार ३५६, माध्यमिक तहमा अध्ययनरत सात हजार ७११ जना र उच्च माविका एक हजार ७०३ दलित छात्रछात्राका लागि रु १७ लाख तीन हजार रकम निकासा दिएको जिशिकाले जनाएको छ ।

प्रतिक्रिया