पर्यटक भित्र्याउन राजदूतावास सक्रिय

इनेप्लिज २०७२ असार ११ गते ९:४८ मा प्रकाशित

चितवन, ११ असार । भूकम्पपछि अस्तव्यस्त बनेको नेपालको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न नयाँ कार्यक्रमका साथ रुसका लागि नेपाली राजदूतावास लागि परेको छ ।

तीन वर्षअघि राजदूत नियुक्त भएसँगै डा रविमोहन सापकोटाले रुसी नागरिकलाई नेपाल पर्यटकीय गन्तव्य भएको चिनाउँदै आउनुभएको छ । दुई दिनअघि नेपाल आई पुग्नुभएका राजदूत सापकोटाले भूकम्पपछि अरु नयाँ कार्यक्रमका साथ पर्यटन प्रवद्र्धनका लागि आफू लागि परेको बताउनुभयो । रुसका नौ करोड जनता बर्सेनि विभिन्न ठाउँको भ्रमण गर्ने गरेको बताउँदै उहाँले आफू राजदूत हुँदा नेपाल भित्रिनेको सङ्ख्या पाँच हजार रहेकामा हालसम्म आइपुग्दा यो सङ्ख्या बढेर १३ हजार नाघेको बताउनुभयो ।

जुन, जुलाई र अगस्त रुसमा घुमफिरको महिनाको रुपमा चिनिन्छ । यो समय बिदा हुने हुँदा उद्योगी, व्यवसायी, कर्मचारी, पेसाकर्मी घुम्न रुचाउने गर्दछन् । राजदूत सापकोटाका अनुसार रुसले आफ्ना नागरिकलाई बिदामा भ्रमण गर्न उत्प्रेरित गर्दछ । भ्रमण गर्नेलाई बैंकमार्फत सहजरुपमा ऋणसमेत दिने गरेको उहाँले बताउनुभयो । ठूलो सङ्ख्यालाई नेपालप्रति आकर्षित बनाउन एलेक्स सान्दर तेरेन्तीयालाई अवैतनिक राजदूत नियुक्तिको तयारी भइरहेको राजदूत सापकोटाले जानकारी दिनुभयो ।

पाँच पटकसम्म नेपालको भ्रमण गरेका तेरेन्तीया अवैतनिक राजदूत बनेपछि सेन्टपिटस्वर्गमा कार्यालय खुल्नेछ । जसबाट नेपालमा पर्यटक भित्र्याउन थप सहज हुने सापकोटाको भनाइ छ । सगरमाथा आरोहण गरेका १३ जना रुसी आरोहीलाई दूतावासमै बोलाएर सम्मान गर्नुका साथै नेपाल घुम्न प्रेरित गरिदिन आफूले आग्रह गरेको पनि उहाँले बताउनुभयो ।

रुस नेपाल मैत्री समाजमार्फत वरिष्ठ रुसीहरुलाई नेपाल ल्याएर यहाँका पर्यटकीय सुन्दरताको बारेमा रुसमा प्रचारप्रसारसमेत गराइरहेको राजदूत सापकोटाले बताउनुभयो । पछिल्लो समय भूकम्पका कारण फैलिएको नकारात्मक धारणाको अन्त्य गर्न यही असार ३० गते रुसमा नै त्यहाँका पर्यटन व्यवसायी, गाइड, अपरेटरलगायतको बृहत् छलफल कार्यक्रम राखिएको पनि उहाँले बताउनुभयो ।

छलफल पछि १५ जना विभिन्न क्षेत्रका प्रतिनिधिलाई नेपालको पर्यटन बोर्ड र यहाँका होटलको सहयोगमा यहाँका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणको कार्यक्रमसमेत राजदूतावासले राखेको छ । त्यसैगरी आउँदो सेप्टेम्बरमा रुसका पत्रकारसहितको टोली नेपाल ल्याउने तयारीमा दूतावास जुटेको छ । यसबाट भूकम्पका कारण जुन त्रास रुसमा फैलिएको छ, त्यो अन्त्य हुने र थप पर्यटक नेपाल भित्रिने सापकोटाको भनाइ छ ।

मुख्यरुपमा रुसीहरु नेपालको संस्कृति, बुद्धिजम र प्रकृतिसँग रमाउने गर्दछन् । हिमाल, पहाड उक्लने उनीहरुको बढी इच्छा हुन्छ । आफ्नो देशमा सधैँ हुने नाकाबन्दी र आक्रमणबाट दिक्क भएका रुसीहरु बन्द हडताल र द्वन्द्व भएका ठाउँमा घुमफिर गर्न रुचाउँदैनन् । रुसबाट हतियारसहितका उत्पादन बाहिरिने गरेकाले यहाँ अमेरिका र युरोपको सधैँ नाकाबन्दी हुने गरेको छ । रुसको १३ करोड जनसङ्ख्या छ । उचित वातावरणको अभावमा नेपाली भने रुसमा ५०० को हाराहारीमा मात्र रहेका छन् ।

रुसमा रहेका स्थापित व्यवसायी उपेन्द्र महतो, जीवा लामिछाने, सानिमा ग्रुप जस्ताले समेत रुस छाडिसकेका छन् भने भाषा र उत्पादनको क्षेत्र कमी भएका कारण रुसमा नेपाली टिक्न नसकेको बताइन्छ । रोजगार गन्तव्य नबने पनि वातावरण बनाउन सकेमा नेपालको भूमि रुसी जनताका लागि प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिने राजदूत सापकोटाको विश्वास छ ।

प्रतिक्रिया