‘विद्यार्थी सङ्ख्याका आधारमा दरबन्दी देउ’

इनेप्लिज २०७२ असार ११ गते ३:४१ मा प्रकाशित

Baglung_district_locationबागलुङ, ११ असार । शिक्षक दरबन्दी मिलानको समस्या झेलिरहेका यहाँका विद्यालयले विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दी थप गर्न माग गरेका छन् ।

ज्येष्ठताका आधारमा दरबन्दी दिने निर्णय न्यायपूर्ण नभएको गुनासो उनीहरुको छ । यसले झन् न्यून विद्यार्थी भएको विद्यालयमा दरबन्दी थुप्रिने र अधिक विद्यार्थी भएकोमा दरबन्दी अपुग हुने क्रम थपिने छ ।

जिल्ला शिक्षा कार्यालयले दुई वर्षअघि दरबन्दी मिलान गरेपनि त्यो अपूर्ण रहेको तारा–८ स्थित मालारानी निमाविका प्रअ कर्णबहादुर केसीले बताउनुभयो । ‘विद्यार्थी सङ्ख्या हेरेर दरबन्दी दिने व्यवस्था गर्नुपर्छ, विद्यार्थी नभएकोबाट काटेर भएकोलाई दिनुप¥र्यो’ प्रअ केसीले भन्नुभयो ।

तारा गाविसकै दुर्गा भवानी माविको समस्या पनि उस्तै छ । भरिभराउ विद्यार्थी हुँदा पनि शिक्षक दरबन्दी अभावमा विद्यालय आर्थिक समस्यामा परेको छ । ४१२ विद्यार्थीले पढ्ने उक्त विद्यालयले पनि अहिलेसम्म मावि तहको दरबन्दी पाउन सकेको छैन ।

दरबन्दी अभावमा शिक्षकलाई तलव खुवाउन समेत धौ–धौ परेको प्रअ टेकबहादुर घर्तीमगरले बताउनुभयो । उहाँले स्थानीवासीको चन्दा सहयोगबाट मावि तह चलेको उल्लेख गर्नुभयो ।

घर्तीले विद्यार्थी सङ्ख्या उल्लेख्य भएका विद्यालयमा दरबन्दी थप गर्न माग गर्नुभयो । दुर्गा भवानीमा प्रावि तहको राहत एकसमेत गरी ४ र निमावि तहमा चार दरबन्दी कायम छ । विसं २०६८ देखि मावि चलेपनि अहिलेसम्म दरबन्दी पाउन भने सकेको छैन ।

यस्तै ग्रामीण भेगका अधिकांश विद्यालयले उस्तै समस्या भोगिरहेका छन् । दुर्गममा शिक्षक जान नमान्ने कारणले कतिपय दरबन्दी मिलान कार्यान्वयन नै हुन नसकेको शिक्षा कार्यालयले जनाएको छ ।

एक शिक्षक बराबर ४५ विद्यार्थी हुनुपर्ने प्रावधान रहेपनि कतिपय विद्यालयमा त्यसको तुलनामा ज्यादै न्यून विद्यार्थी सङ्ख्या छ । दरबन्दी नभएका विद्यालयमा प्रतिविद्यार्थी इकाइ अनुपातमा छुट्टै रकम पठाउने गरिएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत खेम आचार्यले बताउनुभयो ।

उहाँले जिल्लामै शिक्षक दरबन्दी कम रहेकाले समस्या थपिएको धारणा राख्नुभयो । विद्यार्थी सङ्ख्या हेरेर दरबन्दी व्यवस्थापन गर्नुपर्ने माग जायज रहेको अधिकृत आचार्यको भनाइ छ । जिल्ला शिक्षा कार्यालय, शिक्षक सङ्घस्गठन र अन्य सरोकार भएकाले ज्येष्ठता क्रमअनुसार विद्यालयलाई दरबन्दी थप्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया