राजस्व चुहावटका मुद्दामा वृद्धि

इनेप्लिज २०७२ असार १० गते ११:०३ मा प्रकाशित

काठमाडौँ, १० असार । राजस्व न्यायधिकरण कार्यालयमा राजस्व चुहावट सम्बन्धी विभिन्न किसिमका मुद्दा बढेको पाइएको छ ।

चालु आर्थिक वर्षको जेठ महिनासम्म एकहजार ४३२ राजस्व सम्बन्धी मुद्दा परेकामा जम्मा ७१९ मुद्दाको फैसला गरिएको छ । आयकर ६९२, मूल्य अभिवृद्धि कर ५१३, भन्सार १६० तथा अन्य ६७ मुद्दा रहेका छन् । त्यसमा आयकर ३४८, मूल्य अभिवृद्धि कर २८९, भन्सार ५३ तथा अन्य २९ सम्बन्धी मुद्दाको निर्णय भएको श्रेस्तेदार महेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

गत अर्थिक वर्षमा आयकर २१५, मूल्य अभिवृद्धि कर ११६, भन्सार २८ तथा अन्य १३ गरी जम्मा ३७२ मुद्दा निर्णय भएको थियो । विभिन्न व्यवसायी, कम्पनी तथा उद्योगले आम्दानी तथा नाफाआर्जन गरेपनि आन्तरिक राजस्व कार्यालयले निर्देश गरेका कर सम्बन्धी नीति नियमअनुसार कर तथा राजस्व नतिरेको मुद्दाका प्रकृतिले देखाएको श्रेस्तेदार पोखरेलले बताउनुभयो ।

राजस्व न्यायधिकरण कार्यालयले राजस्व विभाग तथा व्यवसायीकाबीच असमझदारी तथा विवाद भएपछि त्यस्ता विषयको न्यायिक प्रक्रियाबाट छिनोफानो गरी चुहावट भएको कर तथा राजस्वको असुली गर्न बाटो खुला गरिदिन्छ ।

प्रतिक्रिया