दाजुलाई गोली प्रहार गरेर फरार दिनेश पक्राउ

इनेप्लिज २०७२ असार ९ गते ५:४५ मा प्रकाशित

pakraauधनगढी, ९ असार । धनगढी नगरपालिका–५ को जाँई चोकमा मङ्गलबार दिउँसो गोली प्रहार गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गोली प्रहारपछि फरार रहेका दिनेश बोहरालाई घटनास्थलदेखि झन्डै चार किलोमिटरको दूरीमा रहेको अत्तरिया नगरपालिका–६ बेला गाउँस्थित आफन्तको घरबाट मङ्गलबार राति पक्राउ गरिएको हो ।

मङ्गलबार मध्याह्न युके०६आर २६३३ नम्बरको मोटरसाइकलको पछाडि सवार दिनेशले मोटरसाइकल चलाइरहेका आफ्नै दाजु कुमार बोहरामाथि गोली प्रहार गरी फरार भएका थिए ।

गोली लागेर कुमार सडकमै ढलेपछि सोही मोटरसाइकल र अन्य कागजात लिएर दिनेश फरार भएका थिए । घटनालगत्तै प्रहरीले सुरु गरेको खोजी क्रममा आफन्तको घरमा उनी फेला परेका थिए ।

बोहराको नाममा कैलालीमा रहेको अचल सम्पत्तिको अंशबन्डासम्बन्धी विवादसँगै दिनेशले कुमारमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक सूर्यबहादुर चन्दले बताउनुभयो ।

प्रतिक्रिया