लहान, २ असार । सबै घरसम्म शौचालय निर्माण गरी देशलाई सन् २०१७ सम्ममा खुल्ला दिसामुक्त घोषणाको तीव्र तयारी भइरहँदा लहान नगरपालिका–१८ स्थित भदैयाको सिङ्गो बस्ती शौचालयविहीन रहेको पाइएको छ ।
लहान नगरपालिकामा हालै गाभिएकोे भदैयाको साविक वाड नम्बर ४ को मुतनी खोलापारी रहेको उक्त बस्तीमा एउटा पनि शौचालय छैन । करिब ४० घरधुरीमा २०० को जनसङ्ख्या बसोबास रहेको उक्त बस्तीमा शौचालय नहुँदा स्थानीय बस्ती नजिकैको मुतनी खोलाको खोल्साखोल्सीमा गएर दिसापिसाब गर्दै आएका छन् ।
भदैयालाई खुल्ला दिसामुक्त बनाउन त्यहाँ गत असार महिनादेखि नै युएन हेबिटेटको सहयोगमा इकार्ड्स नेपाल र सिर्जना सामुदायिक विकास केन्द्र सिरहाले सहजीकरण गर्दै आए पनि स्थानीयमा शौचालय निर्माण गर्नुपर्छ भन्ने सोच पलाउन सकेको छैन ।
साविकमा नौ वटा वडा रहेको भदैयाको आठवटै वडामा अहिले शौचालय निर्माण कार्य द्रुतगतिमा अघि बढेपनि मुतनी खोलापारीको बस्ती भन्ने शौचालयविहीन रहेको स्थानीय अगुवा रामहयोधी सिंहले बताउनुभयो । आफूले शौचालय निर्माणको लागि पटक पटक आग्रह गर्दा पनि कसैले त्यसप्रति चासो नदेखाएको उहाँको भनाइ छ ।
आर्थिक अभावभन्दा पनि सरकारले नै शौचालय बनाइ दिन्छ कि भनेर स्थानीय शौचालय बनाउन नचाहेको सुनाउँदै सिंहले भन्नुभयो “यस बस्तीका अधिकांश युवा वैदेशिक रोजगारीमा काम गर्छन्, वैदेशिक रोजगारीमा जान नसक्ने छिमेकी भारतको विभिन्न सहरमा रोजगारी गर्ने गरेका छन्, तर शौचालय बनाउन चाहँदैन ।”
घरमा शौचालय निर्माण गर्न खर्च किन गर्ने ? भन्ने सोचले त्यस बस्तीमा बढी प्रभाव पारेको छ, लहान नगरपालिकाका कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले भन्नुभयो– “त्यसैले त्यस बस्तीका बासिन्दाको सोच परिवर्तन गर्न र शौचालय बनाउन दबाबमूलक कार्यक्रम गर्ने तयारी गरिरहेका छौँ ।”
त्यस बस्तीमा अन्य स्थानभन्दा बढी जनचेतनामूलक र सरसफाइसम्बन्धी कार्यक्रम दिए पनि त्यहाँका बासिन्दाले सुनेको पनि नसुनेझैँ गरिरहेको इकार्ड्स नेपालका सरसफाई विज्ञ गोपाल घिमिरेले बताउनुभयो ।
उहाँले आउँदो असार महिनादेखि त्यस बस्तीमा सिटी फुक्दै चारैतर्फबाट खुल्ला शौच गर्न नदिई घेरेर उनीहरुलाई शौचालय बनाउन बाध्य पार्ने रणनीति लिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया