ताप्लेजुङमा पहिरोले घर बगाउँदा ज्यान जानेको सङ्ख्या ६० पुग्यो

इनेप्लिज २०७२ जेठ २८ गते १४:०५ मा प्रकाशित

pahiro-taplejungपाँचथर, २८ जेठ । अविरल वर्षाका कारण पहिरो जाँदा ताप्लेजुङमा ज्यान गुमाउनेको सङ्ख्या ६० पुगेको छ । १२ जना गम्भीर घाइते भएका छन् भने अरु केही हराइरहेका छन् ।

अहिलेसम्म ज्यान गुमाएका पाँच जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिङतेपका चमेली लिम्बू र मनमाया लिम्बु, लिवाङका देबेन्द्र लिवाङ, खोक्लिङका सविन मादेन र बसन्त बिकको सनाखत भएको हो ।

जिल्लाको पश्चिमी गाविस थिङलाबु–६ बाट अहिले सम्ममा १२ जनाको शव निकालिएको छ । बुधबार रातिदेखिको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परेकाहरुको उद्धारको काम भइरहेको छ ।

यी गाविसबाट अझै केही स्थानीय सम्पर्कमा नआएकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने प्रहरीले अनुमान गरेको छ । खामलुङ गाविसका केही वडामा पनि पहिरो गएको छ । अहिले पनि पानी परिरहेकाले खोल्सा तथा खोला बढेका कारण उद्धारमा समेत कठिनाई भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

थिङलाबुमा पुग्ने मौवाखोलाको पुलहरु बगाएपछि प्रहरी प्रशासनसमेत त्यस क्षेत्रमा अहिलेसम्म पुग्न नसकेको प्रहरीले बताएको छ । यस्तै ताप्लेजुङको म्याङखामा पनि पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ । पहिरो गएपछि यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया