गुल्मी केयर विश्व सञ्जालको भूकम्पपीडितलाई सहयोग

इनेप्लिज २०७२ जेठ २६ गते ३:१९ मा प्रकाशित

गुल्मी, २६ जेठ । गत वैशाख १२ र २९ गते आएको भूकम्पका कारण गुल्मीमा दुई हजार १०० भन्दा बढी घर पूर्णरुपमा क्षति भएका छन् भने तीन हजारभन्दा बढी घर आंशिक रुपमा क्षति भएका छन् ।

जिल्लामा भूकम्पबाट पूर्णरुपले क्षति भएका घरपरिवारलाई सरकारी तथा विभिन्न गैरसरकारी संस्थाबाट सहयोग गर्ने क्रम चलिरहेको छ । भूकम्पपीडित जिल्लावासीलाई स्वदेश तथा विदेशमा रहेका नेपालीले सहयोग सङ्कलन गरी पीडितलाई राहत वितरण गरेका छन् । भूकम्पपीडित जिल्लावासीको राहतका लागि विदेशमा रहेको गुल्मी केयर विश्व सञ्जालले गुल्मीका विभिन्न स्थानमा पुगी राहत सामग्री हस्तान्तरण गरेको छ ।

सञ्जालले गुल्मीमा रु सात लाख बराबरका घर बनाउन आवश्यक पर्ने सामग्री हस्तान्तरण गरेको सञ्जालका गुल्मी जिल्ला प्रतिनिधि नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो । सञ्जालले जिल्लाका विभिन्न स्थानअन्तर्गत भूकम्पबाट अतिप्रभावितमध्ये आर्थिक अवस्था कमजोर भएकामध्ये ४० घरपरिवारलाई जस्तापाता वितरण गरिएको भण्डारीले जानकारी दिनुभयो ।

सञ्जालले जिल्लामा खडकोट गाविसमा पाँच, फोक्सिङ गाविसमा तीन, भुर्तुङ गाविसमा तीन, वडागाउँ गाविसमा ६, जैसिथोक गाविसमा पाँच, मुसिकोट गाविसमा चार, वस्तु गाविसमा तीन, हस्तिचौर गाविसमा तीन, रेसुङ्गा नगरपालिकामा पाँच, पिपलधारा गाविसमा एक, नयाँगाउँ गाविसमा एक, दर्लामचौर गाविसमा एकवटा घर बनाउन आवश्यक पर्ने जस्तापाता हस्तान्तरण गरिएको भण्डारीले बताउनुभयो ।

सञ्जालले जिल्लाका भूकम्पपीडितमध्ये पारिवारिक स्थिति हेरीकन पीडितका लागि प्रतिघर दुई बन्डल र तीन बन्डलका दरले जस्तापाता, दुई किलोका दरले काँटी वितरण गरिएको भण्डारीले जानकारी दिनुभयो । सञ्जालले विभिन्न गाविसमा पुगी स्थानीय राजनीतिक दल, पत्रकार, नागरिक समाज लगायतको उपस्थितिमा वितरण गरिएको भण्डारीले बताउनुभयो ।

गुल्मी जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका सञ्जालमा आबद्ध रहेका विभिन्न व्यक्तिसँग रकम सङ्कलन गरेर भूकम्पपीडितका लागि सहयोग गरेको गुल्मी केयर विश्व सञ्जालका अध्यक्ष मानबहादुर कुँवरले बताउनुभयो । भूकम्पपीडितका लागि सञ्जालले सहयोग गर्ने क्रम जारी राख्ने समेत जनाएको छ । सञ्जालले गुल्मीका अन्य क्षेत्रमा विभिन्न रोग लागेर आर्थिक अवस्था कमजोर भएका विभिन्न ब्यक्तिलाई पनि ठूलो आर्थिक रकम सहयोग गर्दै आएको अध्यक्ष कुँवरले बताउनुभयो ।

प्रतिक्रिया