भारतका प्रवासी नेपालीद्वारा अठासी लाख सहयोग

इनेप्लिज २०७२ जेठ २५ गते ४:४२ मा प्रकाशित

काठमाडौँ, २५ जेठ । नेपाली जनसम्पर्क समिति भारतले नेपालका भूकम्पपीडितका लागि ८८ लाख ३० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ ।

समितिले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई उहाँकै कार्यकक्षमा भेटेर पहिलो चरणमा ८८ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको विवरण पेस गरेको हो ।

यसैगरी समितिले प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिनका लागि पाँच लाख ६२ हजार ३९५ रुपैयाँ राजदूत उपाध्यायलाई हस्तान्तरण गरेको समितिका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिनुभयो ।

भारतको पूर्वोत्तर क्षेत्रबाट करिब भारु १२ लाख बराबरको राहत सामग्री वाणिज्य दूतावास कोलकाताबाट, मध्यभारत क्षेत्र भोपालबाट करिब रु ६ लाख बराबरको राहत सामग्री, पश्चिम उत्तर भारत क्षेत्रबाट भा.रु दुई लाख ३० हजार बराबरको राहत सामग्री पठाइसकेको पाण्डेले बताउनुभयो ।

त्यसैगरी, उत्तर भारत क्षेत्रबाट करिब भा.रु १७ लाख बराबरको राहत सामग्री दूतावासमार्फत पठाएको र अन्य राहत सामग्री जिल्ला दैवी प्रकोप समितिसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा पठाइएको छ ।

राहत सामग्री जिल्ला दैवी प्रकोप समितिसँगको समन्वयमा सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट, काठमाडाँै, ललितपुरलगायत जिल्लामा वितरण गरिएको समितिले जनाएको छ ।

समितिले दोस्रो चरणमा पुनर्वासका लागि योजना बनाउँदै भारतभरिबाट आर्थिक सङ्कलन अभियान सञ्चालन गर्न लागेको छ । नेपाली काँगे्रस र नेपाल सरकारको सुझावका आधारमा अस्थायी पुनर्वास र दीर्घकालीन बसोबासका लागि पनि भारतीयदातासँग पहल थालेको समितिका सहमहामन्त्री विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया