क्षतिग्रस्त संरचना भत्काउन र भग्नावशेष हटाउन सेना अहोरात्र परिचालन

इनेप्लिज २०७२ जेठ २४ गते १५:५५ मा प्रकाशित

armyकाठमाडौँ, २४ जेठ । केही पत्रपत्रिका तथा विद्युतीय सञ्चार माध्यमले कार्यविधि नभएकोले नेपाली सेनाले भूकम्पबाट क्षतिग्रस्त संरचना भत्काउन छाडेको भन्ने समाचारको खण्डन गरेको छ । .

सेनाले भूकम्प आफूसँग उपलब्ध स्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै प्राथमिकताकासाथ भूकम्पबाट क्षतिग्रस्त संरचना हटाउने तथा जोखिमयुक्त घर भत्काउँदै सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिन अहोरात्र खटिरहेको स्पष्ट गरेको छ ।

नेपाल सरकार, सहरी विकास मन्त्रालयको संयोजकत्वमा जोखिमयुक्त क्षतिग्रस्त भवन भत्काउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा सम्बन्धित नगरपालिका र गाउँ विकास समितिकोे संलग्नतामा आवश्यक काम भइरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

“नेपाली सेनाले गरेका कामका सम्बन्धमा दैनिक रुपमा विज्ञप्तिमार्पmत जानकारी गराएको र सत्यतथ्य यकिन नगरी सुरक्षाफौजप्रति नकारात्मक सन्देश प्रवाह हुने तथा मनोबल गिराउने समाचार सम्प्रेषण नगर्न” उक्त निर्देशनालयले सम्बद्ध सबैमा आग्रह गरेको छ ।

कक्षा कोठा निर्माणमा सेना व्यस्त
भूकम्प प्रभावित विभिन्न क्षेत्रका विद्यालयको पठनपाठन सञ्चालन गर्न कक्षा कोठा निर्माणमा सेना दिनरात खटिएको पनि उक्त निर्देशनालयले स्पष्ट गरेको छ । साथै सुरक्षा फौजले जनहितका कामलाई पनि उच्च प्राथमिकता दिँदै निरन्तर लागिपरेको छ ।

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले वसन्तपुर दरबार क्षेत्र, त्रिपुरेश्वरस्थित नारायण मन्दिर, बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, चाँगुनारायण मन्दिर र साँखु क्षेत्रका पुरातात्विक महत्वका संरचना एवम् थापाथलीस्थित नेपाल राष्ट्र बैंकको भग्नावशेष व्यवस्थापन गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया