एक्काइस गाविसमा अनौपचारिक शिक्षा

इनेप्लिज २०७२ जेठ २० गते ५:२८ मा प्रकाशित

ilam_nepal_mapइलाम, २० जेठ । निरक्षता उन्मूलनका लागि नगरपालिकासहित यहाँका २१ वटा गाविसमा अनौपचारिक शिक्षा कार्यक्रम सुरू गरिएको छ ।

भित्तेपात्रोको तिथिमिति बताउन सक्ने, घडी हेरेर समय बताउन सक्ने, शून्यदेखि १० सम्मका अक्षर लेख्न सक्नेलगायतका सूचक पूरा गरिसकेका व्यक्तिलाई सीपमूलक प्रणालीद्वारा साक्षर बनाउन कार्यक्रम सुरू गरिएको जिल्ला शिक्षा कार्यालयका अनौपचारिक फाँटका द्रोणप्रसाद पोखरेलले बताउनुभयो ।

जिशिकाले एकतप्पा, फूएँतप्पा, साङरूम्वा, जीतपुर, चमैता, सुलुबुङ, बरबोटे, गोदक, नामसालिङ, दानाबारी, देउमाई नगरपालिका, महमाई, इभाङ, श्रीअन्तु, इरौंटार, शान्तिपुर, चुलाचुली, बाँझो, शान्तिडाँडालगायत गाविसमा अनौपचारिक शिक्षा कार्यक्रम सुरू गरेको हो ।

ती गाविसमा सञ्चालित सामुदायिक अध्ययन केन्द्रमार्फत पाँच हजार जनालाई साक्षर बनाउने लक्ष्य राखी अनौपचारिक शिक्षा सुरू गरिएको जानकारी उहाँले दिनुभयो ।

तीन महिनासम्म सञ्चालन हुने कार्यक्रममा १५ वदेखि ६० वर्ष उमेर पार नगरेका व्यक्तिलाई सीपमूलक प्रविधिसमेत दिइने छ ।

त्रिचालीस गाविस र तीन नगरपालिका रहेको यस जिल्लामा आगामी वर्ष बाँकी नगरपालिका र गाविसमा साक्षरता कक्षा सञ्चालन गरिने बताइएको छ ।

प्रतिक्रिया