भूकम्प पिडितलाई सहयोग जुटाउन राजेश हमाल लगायत आधा दर्जन कलाकार यूएई आउदै

इनेप्लिज २०७२ जेठ १९ गते १०:४० मा प्रकाशित

Charity program - UAEचर्चित नायक राजेश हमालको नेतृत्वमा आधा दर्जन प्रख्यात कलाकारले भूकम्प पिडितको सहयोगार्थ यूएईको राजधानी आबुधाबीमा हुने च्यारिटी शोमा प्रस्तुति गर्ने भएका छन् ।

सहयोगमा मात्रै केन्द्रित रहेर नेपाली राजदुतावास यूएईको संरक्षकत्वमा हुन गइरहेको उक्त कार्यक्रममा सम्पूर्ण कलाकारहरुले नि:शुल्क प्रस्तुति दिनेछन् । नेपालका भूकम्प पिडितको सहयोगका निमित्त यूएईमा राहत संकलन अभियानका लागि एनआरएनए यूएईका अध्यक्ष कृष्ण भुसालको संयोजकत्वमा गठित समिती आयोजक रहने उक्त कार्यक्रमलाई यहाँका सबै नेपालीले अपनत्व महशुस गर्नेछन् ।

कार्यक्रमलाई आकर्षक र राष्ट्रिय स्तरको बनाउनका निमित्त महानायक राजेश हमाल, चर्चित हास्य कलाकारद्वय दिपकराज गिरी र दिपाश्री निरौला आउने भएका छन् । त्यसैगरी लोक गायकहरु तिलकबम मल्ल र इन्द्र जिसी, लोक गायिका सम्झना लामिछाने मगर तथा पूर्व मोडेल तथा हमाल पत्नी मधु भट्टराई सहितका कलाकार आबुधाबी आउने पक्का भएको कार्यक्रम संयोजक भुसालले बताएका छन् । त्यस्तै पप गायिका प्रजिता गेलाल पनि प्रस्तुतिका लागि अष्ट्रेलियाबाट कार्यक्रममा उपस्थित हुनेछिन् । सम्पूर्ण कलाकारहरुले बिना कुनै पारश्रमिक भूकम्प पिडितप्रति समर्पित रहँदै कार्यक्रममा प्रस्तुतिका लागि सहभागिता जनाउने प्रतिबद्धता गरिसकेका छन् ।

आबुधाबीको मुश्रिफस्थित अल नाहदा नेशनल स्कुलको सभा हलमा जुन महिनाको १२ तारिक शुक्रवारका दिन दिउसो १ बजेबाट कार्यक्रम शुरु हुने आयोजक समितीले जानकारी दिएको छ । कार्यक्रम तयारीका लागि समितीले बिभिन्न उप समितीहरु बनाई गृहकार्यलाई जोडतोडका साथ अघि बढाईरहेको र यूएईवासी सबै नेपालीको सहयोग पाउनेमा समिती आसावादी रहेको जनाइएको छ ।

नेपालबाट आउने सम्पूर्ण कलाकारहरुका लागि भिसा, टिकट, होटेल लगायत नि:शुल्क उपलब्ध गराउनका लागि बिभिन्न उप समितीका सदस्यहरु तदारुकताका साथ लागिपरेका संयोजक भुसालले जानकारी गराए । ३००० दर्शक क्षमतायुक्त कार्यक्रम आयोजना स्थल समेत अल नाहदा नेशनल स्कुलले नि:शुल्क उपलब्ध गराएको र आफ्नै सभा हलमा आयोजना हुने उक्त कार्यक्रम मार्फत स्कुलले समेत केहि आर्थिक सहयोग प्रदान गर्न सक्ने सम्भावना रहेको ब्यबस्थापन प्रमुख भरत रानाले बताए । कार्यक्रमबाट संकलित हुने सम्पूर्ण रकम दुतावासकै रोहवरमा प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषमा पठाइने भएको छ ।

उक्त कार्यक्रम कुनै संस्था वा व्यक्ति बिसेषको नभई यूएईवासी सबै नेपाली र सम्पूर्ण क्रियाशील संघसंस्थाको संयुक्त कार्यक्रम भएकाले सबैबाट समुचित सहयोगको अपेक्षा लिइएको जनाईएको छ ।यूएईमा स्थपित नेपाली ब्यबशायीहरुबाट सहयोगको आस्वासन प्राप्त भएकामा आयोजक समितीले खुसि व्यक्त गरेको छ ।

रमादान शुरु हुनुपूर्व कार्यक्रम गर्नुपरेको र त्यसका लागि १२ जुन पछिको समय नभएकाले अत्यन्तै छोटो अबधिमा कार्यक्रम तयारी गर्नुपरेको आयोजक समितीले स्पष्ट परेको छ । सम्पूर्ण संघसंस्थाहरु संगै बसेर कार्यक्रम तयारीका सन्दर्भमा बृहत छलफल गर्नका लागि समय अभाव भएतापनि सकेसम्म सबैलाई आदरपूर्वक समेटीएको र राहत संकलन अभियान समितीकै आयोजनामा हुन लागेकाले सबैले आफ्नै कार्यक्रम सम्झेर सहयोग गरिदिन संयोजक भुसालले अपिल गरेका छन् ।

नेपाली दुतावासमा ६४ संस्था दर्ता रहेको र दुतावासकै सम्रक्षकत्वामा हुने भएकाले ति सबै संस्थाको पूर्ण सहयोग रहनुपर्नेमा आयोजक समितीले सबैमा ध्यानाकर्षण गराएको छ । एउटा संस्थाले संस्थागत रुपमा २५ जनलाई मात्रै कार्यक्रममा सहभागी गराउन सकेपनि कार्यक्रमको लागि ठुलो जमात तयार हुने र सो बापत ठुलो मात्रामा सहयोग जुटाउन सकिने समितीको अनुमान रहेको छ ।

भूकम्प पिडितलाई राहत प्रदान गर्दै सहयोग पुर्याएका यहाँका बिदेशी समुदायलाई पनि धन्यवाद स्वरूप कार्यक्रममा निमन्त्रणा गरिनेतर्फ छलफल भइरहेको बुझिएको छ । यूएईका लागि नेपाली राजदुत धनन्जय झाले उक्त च्यारिटी कार्यक्रमलाई अत्यन्तै सकारात्मक रुपमा बुझिदिएकाले कार्यक्रम आयोजक समिती झनै कस्सिएर कार्यक्रम तयारीमा जुटेको हो । महिनौं तयारी गरेर आयोजना गरिएका कार्यक्रम पनि अपेक्षा अनुरुप सफल हुन नसकेका थुप्रै उदाहरणका बीच छोटो समयावधिमै तय गरिएको च्यारिटी कार्यक्रमका पनि चुनौतिहरु भने प्रशस्तै रहन सक्नेछन् । तथापि आयोजक समितीमा सकृय युवाहरुको जमात ठुलो रहेको र राष्ट्रिय स्तरमा अत्यन्तै ठुलो ख्याती प्राप्त कलाकारहरुलाई एकै मन्चमा उभ्याउन सफल भएकाले कार्यक्रमप्रति दर्शकहरुको आकर्षण स्वाभाविकै बढ्नेमा भने बिश्वास गर्नसक्ने वातवरण बनेको छ ।

यतिबेला देश विनाशकारी भूकम्पले आक्रान्त बनेको र नागरिकहरु पिडामै रहेकाले दु:खी मनलाई केहि हदसम्म खुशी तुल्याउन सकिएमा सकारात्मक भावको बिकाश हुदै जाने कारण पनि यस्ता कार्यक्रमहरु आयोजना हुनुपर्ने मनोबिज्ञहरुले पनि बताउदै आएका छन् । यूएईमा कार्यरत आम नेपाली कामदारहरुको सहज सहभागिताका लागि कार्यक्रमको प्रवेश शुल्क समेत न्युनतम राखिएको आयोजक समितिले जनाएको छ । टिकट वितरणका लागि यूएईका सबै राज्यहरुमा क्षेत्रीय स्तरमा सहयोगी टिम परिचालन गरिएको बताईएको छ । कार्यक्रममा अतिथि कलाकार संयोजन तथा ब्यबस्थापनको जिम्मेवारी गायक प्रकाश पौडेल, मोहराज शर्मा र तारा मल्लले समुहिक रुपमा लिएका छन् ।

महानायक राजेश हमाल बैसाख १२ को विनासकारी भूकम्प लगत्तैबाट बिशेष राहत अभियानमा जुटेका थिए । उनले युरोपका बिभिन्न देशबाट ठुलो मात्रामा राहत रकम संकलन गर्न सफल भएका थिए । यूएईबाट पनि उनको नेतृत्वको चर्चित कलाकारहरुको टोलीको कार्यक्रम मार्फत उल्लेख्य आर्थिक सहयोग जुट्नेमा सबैले बिश्वास लिएका छन् ।

प्रतिक्रिया