अन्तराष्ट्रिय रेडक्रसकर्मी नै खतरामा मापदण्ड विपरितको प्लाटुनियम होटलमा बसोबास

इनेप्लिज २०७२ जेठ १९ गते ५:०२ मा प्रकाशित

image1काठमाडौं । हालै गएको बिनासकारी भूकम्प र दिनहुँजसो गइरहेको पराकम्पनले राजधानी काठमाडौंलगायतका दर्जन बढी जिल्लामा विध्वंस मच्चाएको र अझै पनि ठूला भूकम्प आउने त्रास जनमानसमा सिर्जना भइरहेका बेला पवित्र मनका साथ उद्धार तथा राहतका लागि खटिएका अन्तराष्ट्रिय रेडक्रसकर्मीलाई भने खतरा मोल्न बाध्य पार्दै मापदण्ड विपरित निर्माण भएको र भौतिक संरचना समेत कमजोर रहेको सोल्टीमोडस्थित रेडक्रस केन्द्रीय कार्यालय नजिकैको प्लाटुनियम होटलमा बसोबासको व्यवस्था मिलाइएको छ ।

सरकारले मापदण्ड विपरित निर्माण गरिएका तथा भूकम्पले क्षती तुल्याएका भवन भत्क्याउन सार्वजनिक रुपमै आह्वान गरिरहेका बेला गैरकानूनी रुपमा निर्माण गरिएको भौतिक संरचना कमजोर रहेको प्लाटुनियम होटलमा विदेशी उद्धारकर्मीलाई नै बसोबासको व्यवस्था मिलाउनु कति जायज हो ? यद्यपि, रेडक्रस स्रोतसँग प्लाटुनियम होटलको सुरक्षा सिफारिस बारे सम्पर्क गर्दा कसैले पनि मुख खोल्न चाहेनन् बरु, उक्त होटल सुरक्षित छ भनेर कोही कसैलाई सिफारिस नगरेको दावी गरे ।
रेडक्रस केन्द्रीय कार्यालयकै भवनमा समेत आवश्यक काममा बाहेक तल्लो तलाबाटै कामकाज गर्न आन्तरिक सर्कुलर भइरहेका बेला अन्तराष्ट्रिय रेडक्रसकर्मीलाई त्यस्तो होटलमा बसोबास मिलाउनुको रहश्य बुझिनसक्नु छ । समाचार स्रोतका अनुसार होटल व्यवस्थापनसँग कमिशनको मोहमा परेका रेडक्रस कर्मचारीले प्लाटुनियम होटलको सिफारिस गरेका हुन् । होटलमा कोठा बुक गरिएको भए पनि अन्तराष्ट्रिय रेडक्रसकर्मी भने पराकम्पनको भयले कहिले रेडक्रसकै चौरमा त कहिले होटलको लबिमा रात कटाउँदै आएका छन् । ‘आफ्ना समान राख्न र बाथरुम प्रयोग गर्नका लागि मात्र रुमबुक गरेजस्तो लाग्छ, उनीहरुले बुक गरिएको रुममा रात बिताइरहेका छैनन्,’ प्लाटुनियम होटलकै एक कर्मचारीले बताए ।
यसरी बनाइएको हो, प्लाटुनियम होटल
नेपाल चेम्वर्स अफ कमर्सको स्वामित्वमा रहेको उक्त विल्डीङ २५ वर्षका लागि टेकुस्थित हार्डवेयर व्यापारी प्रकाश दुगड लगायतको समूहले लिजमा लिएर भवन निर्माण मापदण्ड विपरित साढे दुई तल्ला थप गरिएको हो । यसअघि चार तल्ले उक्त विल्डीङ केही वर्ष कामना प्रकाशन (नेपाल समाचारपत्र दैनिक)ले भाडामा प्रयोग गरेको थियो । त्यतिबेलै आवश्यक मर्मत, स्याहार÷सम्हार नहुँदा जिर्ण बन्दै गएको भवन २०६८ सालमा दुगड समूहले मासिक ५ लाख भाडा, भाडा कर र नगरपालिका कर समेत बुझाउने सर्तमा लिजमा लिएर उक्त भवनको स्वरुप परिवर्तनका साथै साढे दुई तल्ला थप गरिएको हो । विदेशी पर्यटकलाई नै तार्गेट गरि सञ्चालनमा ल्याइएको उक्त होटलले स्वरुप परिवर्तनका साथै तला थप गर्दा समेत काठमाडौं महानगरपालीकासँग स्वीकृती लिइएको छैन । स्रोत भन्छ, ‘कतैबाट विरोध आउन सक्ने सम्भावनालाई ख्याल गर्दै होटल व्यवस्थापनले कामनपाका कर्मचारीलाई केही नजराना बुझाएर ‘मुखबुझो’ लगाएको अवस्था छ । त्यही कारण पनि यत्रो विनाश हुँदा पनि कामनपाका कसैको त्यता नजर पर्न सकेको छैन ।’
यहीबीच, प्राप्त जानकारी अनुसार पर्यटन वोर्डले विदेशी पर्यटक बस्ने होटलको भौतिक अवस्था र उनीहरुको पूर्ण सुरक्षा अनूभुति छ÷छैन भन्ने बारेमा जाँचबुझ थालेको छ । भौतिकरुपमा क्षती नपुगेको भए पनि भवनको संरचना र मापदण्ड अनुरुप भए नभएको पनि जाँच गर्ने भएपछि प्लाटुनियम होटल व्यवस्थापनलाई ‘ज्वरो’ आउन थालेको छ ।
‘कम्पनबाट क्षती पुग्ने मात्र नभएर वर्षात्को सिजनमा जगदेखि नै भासिन सक्ने खतरा तर्फ पनि भुगर्वशास्त्रीले सचेत गराएकाले मापदण्ड विपरितका भवनमाथि कामनपा, भवन विभागले जाँच गर्नु पर्ने अवस्था उत्पन्न भएको हो,’ पर्यटन मन्त्रालय स्रोतले थप्यो, ‘विदेशी बस्ने होटलको पुनः परिक्षण गर्ने बारेमा छलफल भइरहेको छ ।’ स्रोतले अन्तर्राष्ट्रिय रेडक्रसकर्मी त्यस्तो मापदण्ड विपरितको होटलमा बसेको भए उनीहरुलाई सतर्क गराइने बतायो ।

प्रतिक्रिया