भूकम्पको फाइदा उठाउँदै विद्युत् चोरी बढ्यो

इनेप्लिज २०७२ जेठ १९ गते ३:३९ मा प्रकाशित

imagesरत्ननगर (चितवन), १९ जेठ । चितवनको रत्ननगरमा विद्युत् चुहावट दोब्बरले बढेको छ । अघिल्लो वर्ष रत्ननगरमा १९ प्रतिशत विद्युत् चुहावट रहेकामा अहिले बढेर ३९ प्रतिशत पुगेको नेपाल विद्युत् प्राधिकरण रत्ननगर वितरण केन्द्रले जनाएको छ ।

अहिलेको समयमा भूकम्पको फाइदा उठाउँदै झन् चोरी बढेको पाइएकाले चोरी नियन्त्रण अभियान सुरु गरिएको केन्द्रका इन्जिनियर चन्द्रशेखर श्रेष्ठले बताउनुभयो । मुख्यगरी चितवनको भण्डारा, कठार, कुमरोजलगायत क्षेत्रमा चोरी बढेको छ । अन्य क्षेत्रमा पनि अहिले सिँचाइको पानी चलाउने बेला भएकाले चोरी झन् बढेको श्रेष्ठको दाबी छ ।

प्रायः गरेर बिदाको समयलाई सदुपयोग गर्दै चोरी नियन्त्रणमा अभियान चलाइएको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । रत्ननगरको यस केन्द्रमा ४५ हजार ग्राहक छन् । यो महिनाबाट सुरु भएको चोरी नियन्त्रण अभियानअन्तर्गत अहिलेसम्म ९० जनालाई कारबाही गरी रु तीन लाख ६७ हजार राजस्व सङ्कलन भइसकेको जानकारी उहाँले दिनुभयो ।
सो क्रममा २५ जनालाई पक्राउ गरेरै कारबाही गरिएको र चोरी गरेर प्रयोग गरिएका कम्प्युटर, मोटर, पङ्खासमेत बरामद गरिएको श्रेष्ठले बताउनुभयो । यसअघि चितवनमा विद्युत् चोरी नियन्त्रण अभियान चलाइएको भए पनि यो वर्ष भने अभियान सेलाएको थियो ।

प्रतिक्रिया