भैँचालो पीडितलाई निःशुल्क मिटर बक्स

इनेप्लिज २०७२ जेठ १७ गते ११:५६ मा प्रकाशित

bijuliकाठमाडौँ, १७ जेठ । नेपाल विद्युत् प्राधिकरणले भैँचालोका कारण क्षतिग्रस्त भएका संरचनाको पुनःनिर्माणलाई तीव्रता दिएको छ ।

प्राधिकरणले पहिलो चरणमा भूकम्पले मुख्य रुपमा प्रभाव पारेको १४ जिल्लामा विद्युत् सेवा उपलब्ध गराउने कामलाई प्रमुख कार्यसूचीमा राखेर पूर्ववत् अवस्थामा फर्काउन लागिपरेको जनाएको छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, धादिङ र नुवाकोटका विकट तथा दुर्गम बस्तीका प्रसारण लाइन क्षतिग्रस्त भएकाले त्यसलाई पूर्ववत् अवस्थामा ल्याउन क्रियाशील भएको प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्लेले जानकारी दिनुभयो ।

“पहिलो चरणमा क्षतिग्रस्त प्रसारण लाइन, ट्रान्समिटर फेर्ने र सहज विद्युत् उपलब्ध गराउन लागिएको छ” उहाँले भन्नुभयो । तर विकट पहाडी बस्तीमा केही समस्या रहेको छ । प्राधिकरणले भैँचालोले क्षति पु¥याएका घर तथा आवासमा रहेका मिटर बक्स निःशुल्क उपलब्ध गराएको र सो क्रम अझै जारी रहेको उहाँले बताउनुभयो ।

“भैँचालोले घर तथा आवास पुरेको भए पनि मिटर बक्स क्षति नपुगेकालाई सोही मिटर बक्स प्रयोग गर्न र क्षति भएकाको हकमा स्थानीय प्रशासनको सिफारिसमा निःशुल्क वितरण गरिएको छ” काफ्लेले भन्नुभयो । हालसम्म के कति परिमाणमा मिटर बक्स वितरण गरियो भन्ने बारेमा तथ्याङ्क सङ्कलन भइरहेका कारण अहिल्यै भन्न नसकिने उहाँको भनाइ छ ।

मिटर बक्समा क्षति पुगेको भए तत्काल प्राधिकरणको नजिकका कार्यालयमा सम्पर्क राख्नसमेत आग्रह गरिएको छ । प्राधिकरणले निर्माण गरिरहेका आयोजनाको भने भैँचालोका कारण लागत र समय दुबै बढ्ने देखिएको छ । प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली थ्री ए, कुलेखानी तेस्रोलगायतका आयोजनामा क्षति पुगेको छ भने सहायक कम्पनीमार्फत निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत् कम्पनीको रसुवागढी र साञ्जेनलगायतका आयोजनाको पहुँच मार्गमा पुगेको क्षतिका कारण लागत बढ्ने देखिएको छ ।

कार्यकारी प्रमुख काफ्लेले पहुँच मार्गमा निरन्तर पहिरो झरिरहेका कारण निर्माण सुरु गर्न समस्या पैदा भएको र भौगर्भिक अध्ययन नगरिकन सुरु गर्नसमेत जटिलता थपिएको बताउनुभयो । पराकम्पन नरोकिँदासम्म काम सुरु गर्न समस्या भएको छ । सरकारले गर्ने निणर्यका आधारमा थप प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।

सरकारले एकीकृत बस्ती निर्माणको अवधारणा अगाडि सारेका कारण सोहीअनुसार अगाडि बढ्नसमेत आफूहरु तयार रहेको काफ्लेको भनाइ छ ।

प्रतिक्रिया