सङ्कटमा खुम्जुङ हरित उपत्यका

इनेप्लिज २०७२ जेठ १७ गते १:३२ मा प्रकाशित

khumjung-Valleyसोलुखुम्बु, १७ जेठ । चिटिक्क परेका घर तथा सबै घरमा प्रकृतिसँग मिल्ने हरियो रङको छाना भएको खुम्जुङ उपत्यका पर्यटन सङ्कटमा पुगेको छ ।

स्याङ्बोचे विमानस्थलबाट खुम्जुङ उपत्यका प्रवेश गर्दा जो कोहीको मनमा आनन्द हुन्थ्यो तर आजकाल त्यस्तो आनन्द दिने किसिमको रहेन । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’का कारण सबैजसो घर चर्किएका थिए भने वैशाख २९ गतेको शक्तिशाली परकम्पले त आधाजसो घर भत्काइदियो । काम लाग्ने अवस्थामा एकाध घर पनि बाँकी नरहेको खुम्जुङ युवा क्लबका कोषाध्यक्ष पेम्बा शेर्पा बताउनुहुन्छ ।

जिल्ला दैवीप्रकोप उद्धार समिति सोलुखुम्बुको तथ्याङ्कअनुसार खुम्जुङ गाविसका ५११ घरमध्ये २३३ घर पूरै भत्किएका छन् र २६२मा आंशिक क्षति भएको छ ।

घर भत्किएपछि अहिले स्थानीयवासीे विभिन्न रङका पाल टाँगेर बसेका छन् । यसबाट अहिले उपत्यका रङ्गीचङ्गीमा परिणत भएको छ । उपत्यकाका सबै घरको छाना एकै रङको बनाउन अभियान सुरु गर्नुभएका पूर्वगाविस अध्यक्ष तेञ्जिङ टासी शेर्पा विश्वमार्फत चिनिएको ‘ग्रिन भ्याली’ पहिचान अब जोगाउन सकिँदैन कि भन्ने चिन्ता बढेको बताउनुहुन्छ ।

“भत्किएका घरका धेरैजसो जस्तापाता पनि कामै नलाग्ने भएका छन्, घर बनाउँदा पनि पहिले बनाएका जस्ता मिलेका घर बनाउन सबैले सक्दैनन्, अब भूकम्पले ध्वस्त भएका पराम्परागत घरको सट्टा पक्की घर बन्ने सम्भावना पनि छ, यी सबै कारण ग्रिन भ्यालीको पहिचान सङ्कटमा परेको हो”, शेर्पाले भन्नुभयो ।

खुम्जुङ ५ र ६ मा पर्ने खुम्जुङ र खुन्दे गाउँ ‘ग्रिन भ्याली’का रुपमा च्नििएको र पर्यटकको आकर्षणको केन्द्र हो । भूकम्पले एकै झड्कामा ध्वस्त बनाएको सो ठाउँको पहिचान गुमाउने चिन्ता मात्र हैन अहिले खुम्जुङमा भूकम्पको कारण क्षतविक्षत भएको पर्यटन व्यवसाय कहिले तङ्ग्रने, चार हजार मिको उचाइको चिसोमा पालको भरमा बस्नुपर्ने अवस्थाबाट कहिले मुक्ति पाउने भन्ने चिन्ता पनि बासिन्दालाई छ । त्यसमाथि खुम्बीयुला हिमालबाट हिमपहिरो खस्ने चिन्ताले दिनरात डराउनु परेको स्थानीय होटल व्यवसायी पशी शेर्पाले दुखेसो गर्नुभयो ।

प्रतिक्रिया