पहाडी भेगमा जडीबुटी विकास कार्यक्रम सुरु

इनेप्लिज २०७२ जेठ १७ गते १:२९ मा प्रकाशित

zanthoxylum-armatum-timur_2तुलसीपुर (दाङ), १७ जेठ । सामुदायिक वन उपभोक्ता महासङ्घले जिल्लाका पहाडी क्षेत्रमा जडीबुटी विकास कार्यक्रम सुरु गरेको छ ।

काभ्रे, स्युजा, सैघा, लोहारापनी र हासिपुर गाविसमा जडीबुटीको राम्रो सम्भावनालाई प्रवद्र्धन गर्ने गरी कार्यक्रम थालिएको महासङ्घले जनाएको छ । रुपान्तरण नेपाल बहुसरोकारवाला वन कार्यक्रमको साझेदारीमा सामुदायिक वन उपभोक्ता महासङ्घ दाङले काभ्रे र स्युजा गाविसमा सामाजिक परिचालनअन्तर्गत जडीबुटी विकासलाई केन्द्रित बनाएर काम थालेको छ ।

चिसो मौसमका कारण यहाँ उत्पादन हुने टिमुर, दालचिनी, रिठो, मालागेडी र सुनाखरीको राम्रो सम्भावना रहेकाले कार्यक्रम सुरु गरिएको भरतपुर सेक्टर वन कार्यालयका अधिकृत देवीप्रसाद चौधरीले बताउनुभयो । ती खेतीबाट यहाँका किसानको आर्थिकस्तर पनि वृद्धि हुने अपेक्षा गरिएको छ ।

व्यक्तिले गर्ने निजी वन वृक्षरोपणका लागि जिल्ला वन कार्यालयले अनुदान दिने व्यवस्था पनि गरिएको छ । करिब तीन वर्षदेखि जिल्लामा सुरु बहुसरोकारवाला वन कार्यक्रम देउखुरी क्षेत्रका छ र दाङ क्षेत्रका आठ गाविसमा सञ्चालन हँुदै आइरहेको छ । सो कार्यक्रम यस वर्षदेखि पहाडी गाविस काभ्रे र स्युजामा थप गरिएको छ । दाङ क्षेत्रका रामपुर, लक्ष्मीपुर, काभ्रे, स्युजा, हापुर, बिजौरी, गोल्टाकुरी फूलबारी, सौडियार र धर्नामा महासङ्घले सामाजिक परिचालन कार्यक्रम गर्दै आइरहेको छ । महासङ्घमार्फत १३९ वन समूहमा कार्यक्रम चलिरहेको छ ।

बहुसरोकारवाला वन कार्यक्रममार्फत स्थानीय वन समूहद्वारा वन स्रोतमा पहँुच तथा वन स्रोतको व्यवस्थापन, वन समूह तथा बहुसरोकारवाला संरचनाको सुशासनको अभ्यास, विपन्न र पछाडि परेका तथा जलवायु परिवर्तनको जोखिममा रहेका घरधुरीको क्षमता विकास तथा आवधिक विकास योजना तयारी तथा पुनरवलोकन गरिने महासङ्घका सचिव हेमराज शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया