पहिरोले पुरिएको बैसरीका बासिन्दाद्वारा बासस्थानको व्यवस्था गर्न माग

इनेप्लिज २०७२ जेठ १२ गते १:२८ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १२ जेठ । जेठ १० गते आइतबार मध्यरातमा राम्चे–९ को काफलडाँडाको पहाडबाट खसेको पहिरोले पुरिएको बैसरी गाउँका बासिन्दाले तत्काल बासस्थानको व्यवस्था गरिदिन माग गरेका छन् ।

भगवती–२ बैसरीका १५ र राम्चे–९ औलका ११ घरपरिवारले पहिलेको ठाउँमा पुनर्वासको सम्भावना नरहेकाले नयाँ ठाउँमा बस्तीको स्थानान्तरणको व्यवस्था गर्न माग गरेका हुन् । पहिरोले कालीगण्डकी नदी किनारामा रहेको बैसरी र औल गाउँ पुरेर बगर बनाएको छ । पहिरोका कारण घरबासविहीन भएका सर्वसाधारणलाई जिल्ला विपद् व्यवस्थापन समिति, रेडक्रस, सम्बन्धित गाविस र विभिन्न सङ्घसंस्थाले धौलागिरि प्रावि रिसिन चौतारीमा अस्थायी बसोबासको व्यवस्था मिलाएका छन् ।

“विद्यालयमा पठनपाठन प्रभावित हुने भएकाले धेरै समय हामी त्यहाँ बस्न चाहँदैनौँ” –पहिरोबाट विस्थापित बैसरीका भीमसेन केसीले भन्नुभयो–“पहिलेको ठाउँमा पुनर्वास गराउन सम्भव छैन । नयाँ ठाउँमा बस्ती स्थानान्तरण गर्न विकल्प खोज्नुपर्छ ।” पहाड भत्कने क्रम अझै नरोकिएको र कालीगण्डकीको बाढीको जोखिमका कारण बस्तीलाई पुरेको पहिरो पन्छाएर तत्कालै बैसरीमा बस्ती बसाउन सम्भव नरहेको स्थानीयवासी तोपबहादुर केसीले बताउनुभयो ।

जेठ ८ गते पहाड भत्किएर पहिरो खस्न सुरु गरेपछि २६ घरका १३७ जनालाई नजिकैको खाली जग्गामा सारिएको थियो । पूर्वसतर्कता अपनाएर बस्ती छाडेकाले ज्यान बचाएका पहिरोपीडित घरबासविहीन भएपछि समस्या र चिन्तामा परेका छन् । बैसरी पहिरोबाट विस्थापित बनेकाको बसाइ व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयले लगत सङ्कलन सुरु गरेको छ । परिवारका सदस्यको सङ्ख्या, अन्यत्र घर, जग्गा भए÷नभएकोलगायत विवरण सङ्कलन भइरहेको प्रहरी नायब उपरीक्षक हिरा गिरीले बताउनुभयो ।

यसैगरी बैसरीको पहिरोका कारण थुनिएको कालीगण्डकीबाट पानीको सुरक्षित प्रवाह गराउने र अवरुद्ध बनेको बेनी–जोमसोम सडक खुलाउने विषयमा नेपाली सेनाको प्राविधिक टोलीले सोमबार स्थलगत अध्ययन गरेको छ । २३ नम्बर बाहिनी बागलुङका बाहिनीपति प्रकाश केसीको नेतृत्वमा कालीप्रसाद इन्जिनियरिङ गणका प्रमुख सेनानी राजेन्द्र श्रेष्ठ, इन्द्रबक्स गणका प्रमुख सेनानी मनोजकुमार सिलवाल, प्रहरी नायव उपरीक्षक हिरा गिरीलगायत सुरक्षा अधिकारीको टोलीले पहिरो र कालीगण्डकी नदी थुनिएर बनेको तलाउको अध्ययन गरेको हो ।

प्रतिक्रिया