मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

इनेप्लिज २०७२ जेठ ११ गते २:३३ मा प्रकाशित

जनकपुरधाम, ११ जेठ । प्रहरीले धनुषाबाट मोटरसाइकल चोरी गर्ने गिरोहका आठजनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिन सफल भएको हो ।

पक्राउ पर्नेहरुमा धनुषा लखौरी–८ बस्ने १७ वर्षीय कमल ठाकुर, महोत्तरी सुनौल–९ बस्ने २६ वर्षीय बाबुजी यादव, धनुषा क्षिरेश्वरनाथ नगरपालिका–२ बस्ने १७ वर्षीय शिवराज श्रेष्ठ, धनुषा हासँपट्टी–८ बस्ने २४ वर्षीय अनिलकुमार साह, धनुषा जउमपा–१२ बस्ने २४ वर्षीय जीतेन्द्र साह, जउमपा–४ बस्ने ४० वर्षीय शैलेन्द्र मिश्र, जउमपा–१ बस्ने ३० वर्षीय सरोज यादव र २८ वर्षीय विक्की साह रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरेको सात थान मोटरसाइकलमध्ये सञ्चारकर्मी वीरेन्द्र रमणको मोटरसाइकलको चेसिस मात्र फेला पारेको छ । सञ्चारकर्मी रमणको मोटरसाइकल करिब तीन महिनापहिले स्थानीय भानु चौकबाट साँझ चोरी भएको थियो । रमणले मोटरसाइकलको ढिक्कीमा रहेको डिजिटल क्यामरा, डिजिटल रेकर्डरलगायत सामग्रीसमेत चोरी भएको जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुलाई चोरी गरेका मोटरसाइकलसहित पत्रकारसम्मेलन गरी आइतबार पत्रकारमार्फत सार्वजनिक गरेको छ । उनीहरु गिरोह सञ्चालन गरी धनुषा तथा महोत्तरीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिनुभयो । ती गिरोहले मोटरसाइकल चोरी गरी सीमावर्ती भारतीय बजार हर्लाखी, बासोपट्टी, हरिणे, छतौनीलगायत स्थानमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

चालु आर्थिक वर्षमा हालसम्म चोरी भएका २१ मोटरसाइकलमध्ये धनुषा प्रहरीले १८ वटा मोटरसाइकल बरामद गर्न सफल भएको दाबी गरेको छ ।

प्रतिक्रिया