जुम्ला, १० जेठ । कर्णालीका अधिकांश युवाको आम्दानीको स्रोत बहुमूल्य जडीबुटी यार्सागुम्बा बन्दै गएको छ ।
जेठ महिना यहाँका युवा जीवनलाई जोखिममा राखेर विशेष गरी मुगु र डोल्पाका तीन हजारदेखि पाँच हजार मिटर उचाइका पाटनमा यार्सागुम्बा सङ्कलनका लागि जान्छन् । यार्सागुम्बा सङ्कलनको कष्टकर समयमा सबैले कमाएर ल्याउँछन् भन्ने कुनै ग्यारेन्टी छैन । भाग्य र परिश्रम दुबैको सम्मिलनबाट केही व्यक्ति सन्तोषका साथ घर फर्कछन् त कोही ऋणको भारी बोकेर गहु्रँगो मन लिएर घर फर्कने गरेको बताउँछन् डिल्लीचौर गाविस–४ का स्थानीय खड्गबहादुर बुढा ।
जुम्लाका पटमारा गाविसका ४० प्रतिशत, डिल्लीचौर गाविसका ८५ र पातारासी, छुमचौर र गुठीचौर गाविसका करिब ९० प्रतिशत मानिस यार्सागुम्बा सङ्कलनका लागि कोही डोल्पा त कोही मुगुका पाटनतर्फ एक महिनादेखि डेढ महिना समयावधिका लागि गइसकेका छन् । गाउँमा युवा नै भेटिँदैनन् । कोही मर्दा, अप्ठ्यारोमा पर्दा साहयता दिने मान्छे नै नभेटिने गरेको डिल्लीचौर उच्च मावि जुम्लाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरबहादुर बुढाले जानकारी दिनुभयो ।
घरको खेतीबालीले तीन महिनादेखि बढीमा छमहिनासम्म मात्र पुग्ने भएकाले यार्सागुम्बा खोज्न जान यस क्षेत्रका जनता बाध्य हुन्छन् ।
यार्सागुम्बा सङ्कलक सबै घर फर्किदैनन्
यार्सागुम्बा सङ्कलन सोचे जस्तो सजिलो छैन । लेकमा जाँदा अक्सिजनको कमीले कतिपय लेक लागेर ज्यान गुमाउँछन्, कतिले जाडो सहन नसकेर र हिमपहिरो तथा हावाहुरीका कारण ज्यान गुमाएको डिल्लीचौरका स्थानीय लक्ष्मण बुढाले बताउनुभयो ।
उहाँका अनुसार केहीले मात्र एक महिनाभित्र रु ४० हजारदेखि तीन लाखसम्म कमाउँछन् र एक वर्षको जीवन निर्वाहलाई सुनिश्चित् गर्दछन् ।
सङ्कलनमा मध्य तथा सुदूरपश्चिमको बाहुल्यता
यार्सागुम्बा सङ्कलनका लागि यसवर्ष सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, दार्चुला र डोटी तथा मध्यपश्चिमाञ्चलका तराईका बाँके, बर्दिया र दाङलगायतका जिल्लाका मानिस आएको पुन्मा गाविस– २ का कालीबहादुर थापाले बताउनुभयो । उहाँले काठमाडाँैंका केही मानिस समेत यार्सागुम्बा सङ्कलनमा आएको बताउनुभयो ।
त्यसैगरी सोही गाविसका राम अधिकारीले आफूहरू मुगुका च्यार्कु, घुच्ची, ताक्ला, रिमारो, टाङ्गे, हाङडाङ, भापरखोला, च्याङ्ग्रा, छापुखोला र महिडखान पाटनमा १५ दिन लगाएर पुग्ने गरेको र खर्च रु १७ देखि २० हजारसम्म लाग्ने गरेको बताउनुभयो ।
यार्सागुम्बा सङ्कलनमा १० देखि ५४ वर्ष मुनिका
वैशाख अन्तिम सातादेखि असार दोस्रो सातासम्म्को यार्सा सङ्कलन वर्षको एक पटक मात्र आउने मूल्यवान समयका साथै विशेष क्षेत्रका जनताका लागि यो ठूलो पर्व र अवसर पनि हो । यसले पनि कर्णालीलगायत मुलुकमा केही जिल्लाका हजारौँं बेरोजगार युवालाई रोजगार दिएको छ ।
पाटनको उचाई र चिसोसँग भिड्न सक्ने क्षमता भएमा उमेरले यार्सागुम्बा सङ्कलनलाई छेक्दो रहेनछ । शायद त्यसै भएर होला यसवर्ष १० देखि ५४ वर्षमुनिका मानिस यार्सा सङ्कलनका लागि पाटनतर्फ गएको भेटिएको छ ।
चार गाविसका विद्यालय अर्धबन्द
आर्थिक अवस्था कमजोर भएका घरपरिवारका बालबालिका पनि यार्सा टिप्न पाटनतर्फ गएका छन् ।
जाजरकोट र जुम्लाका मानिस डोल्पा र मुगुका पाटनतर्फ अहिलेसम्म करिब २० हजारभन्दा बढी गएको अनुमान गरिएको छ । त्यसमा बालबालिकादेखि वृद्धवृद्धासम्म रहेका छन् । प्रत्येक विद्यालयबाट करिब ६० प्रतिशत विद्यार्थी पाटनतर्फ गएको ऋणमोक्ष उच्च मावि डिल्लीचौरका सहायक प्रधानाध्यापक जगतबहादुर शाहीले जानकारी दिनुभयो ।
विद्यार्थी पाटनतर्फ गएपछि सङ्ख्या न्यून रहेको र त्यसमा पनि जेठ महिनाको धान रोप्नेदेखि अन्य कामको चटारोले छात्र–छात्राको उपस्थितिमा कमी भएकाले विद्यालय अर्धबन्द अवस्थामा रहेको सहायक प्रधानअध्यापक शाहीले बताउनुभयो ।
प्रतिक्रिया