मृतक कलाकारका परिवारलाई नगद र राहत वितरण

इनेप्लिज २०७२ जेठ १० गते २:०३ मा प्रकाशित

काठमाडौँ, १० जेठ । ‘विपत्मा नेपाल ललितकलाकर्मीहरुको हातेमालो अभियान’ले विनाशकारी भूकम्पबाट ज्यान गुमाएका तीन कलाकारका परिवारलाई प्रतिपरिवार रु १०–१० हजार, जस्तापाता, खाद्यान्न र लत्ताकपडा शनिबार वितरण गरेकोे छ ।

ती राहत र नगद संस्कृितविद् सत्यमोहन जोशीले मृतक तथा घाइतेका परिवारलाई हस्तान्तरण गर्नुभयो । भूकम्पबाट निधन भएका कलाकारमा राजकपुर शाक्य(बुङ्मती, ललितपुर), सुरेश प्रधान( न्यातपोल, भक्तपुर) र लालमाया मोक्तान(जोरपाटी, काठमाडौँ) छन् । यसैगरी भूकम्पबाट घाइते भएका तथा आफन्त गुमाएका छ कलाकारका परिवारलाई प्रतिपरिवार रु पाँच हजारसहित जस्तापाता, कम्बल, तन्नालगायत सामग्री वितरण गरियो ।

ती राहत सामग्री फूलकुमारी महतो मेमोरियल ट्रस्ट र काठमाडौँ इको होटलका प्रबन्धक निर्देशक सहदेव धमलाबाट प्राप्त भएको हो । सोही अवसरमा आधुनिक कलाकार समाजका तर्फबाट अध्यक्ष शङ्करराजसिंह सुवालले रु २० हजार अभियानलाई प्रदान गर्नुभयो ।

कार्यक्रममा संस्कृतिविद् जोशीले विनाशपछि नै नयाँ निर्माण हुने बताउँदै कलाकारहरुले पीडालाई सिर्जनामा रुपान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो । अभियानका संयोजक शान्तकुमार राईले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोक, नवलपरासी, धादिङ, दोलखा, मकवानपुर, गोरखालगायत जिल्लाका ६५ कलाकारले आफ्नो बासस्थान गुमाएको जानकारी दिनुभयो । अभियानले हालसम्म रक्तदान, बालबालिकालाई भयमुक्त पार्न चित्रकला सिर्जना कार्यक्रम गरिसकेको छ ।

प्रतिक्रिया