दस हजार पशुलाई खोप

इनेप्लिज २०७२ जेठ ४ गते २:१८ मा प्रकाशित

indexभीमदत्तनगर, ४ जेठ । कञ्चनपुरका १० हजार पशुमा भ्यागुते र चरचरे रोगविरुद्ध खोप लगाइएको छ । गर्मीयामका समयमा गाईभैँसीमा भ्यागुते र चरचरे रोगको उच्च समस्या देखिने भएकाले जिल्ला पशुसेवा कार्यालय कञ्चनपुरले भ्यागुते र चरचरे रोगविरुद्ध खोप लगाएको हो ।

दूध उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको कञ्चनपुरको महेन्द्रनगरदेखि कृष्णपुर तथा बेलौरीदेखि पुनर्वाससम्मका क्षेत्रमा व्यावसायिक रुपमा पशुपालन गरिरहेका किसानका दस हजार गाईभैंसीलाई खोप लगाइएको जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरका पशु विकास अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार कञ्चनपुरका २० हजार बङ्गुरमा समेत स्विन फिवर अर्थात् सुगर हैजाविरुद्ध खोप लगाइएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार वर्षा सुरु भएपछि पशुमा देखापर्ने खोरेत रोग नियन्त्रणका लागिसमेत कार्यक्रम सञ्चालन हुँदैछ । गत वर्ष पहिलो चरणमा खोरेतविरुद्ध खोप लगाइएकामा दोस्रो चरणको केही दिनमा सुरु हुने पशु विकास अधिकृत पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया