सांसदबाट अनुगमन सुरु

इनेप्लिज २०७२ जेठ ३ गते ४:१२ मा प्रकाशित

हेटौँडा, ३ जेठ । गत वैशाख १२, १३ र २९ गते आएको भूकम्प र पराकम्पनले मकवानपुर जिल्लाका ३५ गाविस र दुई नगरपालिमा ३७ हजार ७०० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको र तीन हजार २०० घरमा आंशिक क्षति पुगेको छ ।

भूकम्पबाट पीडित बासिन्दालाई जिल्ला दैवीप्रकोप उद्धार समिति मकवानपुर र विभिन्न सङ्घसंस्थाले राहत सामग्री वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको सहायक प्रजिअ चन्द्रबहादुर कार्कीले बताउनुभयो । जिल्लाका क्षतिग्रस्त भवन र स्थानीय बासिन्दाको घर, धनमाल क्षतिको तथ्याङ्क लिन उपसचिवहरु सम्मिलित ३८ टोलीले जिल्ला क्षति संरचना अर्थात् तथ्याङ्क सङ्कलन गर्ने कार्य सुरु गरिरहेका छन् ।

विनाशकारी भूकम्पबाट मकवानपुरमा ३४ को मृत्यु हुनाका साथै करिब ५७४ घाइते भई उपचार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसैगरी भूकम्पमा पुरी मृत्यु भएका पीडित परिवारलाई सरकारबाट उपलब्ध गराइएको किरिया खर्च प्रतिपरिवार रु ४० हजार पनि सम्बन्धित परिवारलाई वितरण गरिसकिएको प्रजिअ रामप्रसाद थपलियाले बताउनुभयो ।

साथै संसद्द्वारा गठित राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन समितिको टोलीका संयोजक सांसद शिवलाल थापाको टोलीले आजदेखि मकवानपुरको काकडा अगराबाट अनुगमन सुरु गरेको छ । टोलीमा सांसद फर्मुला मन्सुर, मञ्जुकुमारी चौधरी र नरेन्द्र साह कलवार रहनुभएको छ । टोलीले क्षतिग्रस्त सबै क्षेत्रको अनुगमन गर्ने बुझिएको छ ।

प्रतिक्रिया