पालमुनिबाट सरकारी सेवा

इनेप्लिज २०७२ जेठ २ गते १०:५५ मा प्रकाशित

Photo20150515Nuwakot2त्रिशूली (नुवाकोट), २ जेठ । भूकम्पका कारण ध्वस्त भएका सरकारी कार्यालयले पालभित्र सेवाग्राहीलाई सेवा प्रवाह गर्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालयले भत्केको कार्यालयको प्राङ्गणमा चार पाल राखेर सेवा सुरु गरेको छ । जिल्लाको सबैभन्दा बढी सेवाग्राहीको भिड लाग्ने कार्यालय नै भत्किएपछि कर्मचारी मिलन केन्द्रको एउटा कोठामा सीमित रहेर अत्यावश्यक काम सञ्चालन गरिएको छ ।

अर्को कार्यालय भवनको व्यवस्था नभएसम्मका लागि अस्थायी रुपमा पालबाट सेवा सञ्चालन थालिएको प्रजिअ कोशहरि निरौलाले बताउनुभयो । “सेवाग्राहीहरु नागरिकता र राहदानी लिन र अन्य कामका लागि आउन थालेका छन्, टेन्टबाटै भए पनि सेवा थालियो” निरौलाले भन्नुभयो, “प्रशासनको निर्माणाधीन नयाँ भवन निर्माण सम्पन्न हुन अझै एक वर्ष लाग्न सक्ने भएकाले कार्यालयका लागि भवन खोजी गरिरहेका छौँ ।”

भवन पूर्ण रुपमा भत्किएपछि वितरणका लागि तयारी रहेको राहदानी, कम्प्युटरको हार्डडिस्क, नागरिकताको ढड्डालगायत कागजपत्र जोगाउन सकिएको प्रजिअ निरौलाले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण रसुवा नुवाकोट वितरण केन्द्र, जिल्ला अदालत, भूसंरक्षण कार्यालय, नापी कार्यालयले पनि पालमुनिबाट सेवा सुरु गरेका छन् । केही भवन भत्केको कार्यालयले पनि पालबाट सेवा सञ्चालन गर्ने तयारी गरेका छन् । भाडामा रहँदै आएको सरकारी कार्यालयको घर पनि भूकम्पले धराप भएपछि पालमुनिबाट सेवा सञ्चालन गरिएको नापी कार्यालयका प्रमुख श्यामप्रसाद यादवले बताउनुभयो ।

विनाशकारी भूकम्पमा परी सर्वसाधारण घरबारविहीन भएसँगै जिल्लाका सरकारी कार्यालय पनि भवनविहीन भएका थिए । कमजोर संरचनाका कारण भूकम्पबाट जिल्लामा भएका संरचनामा क्षति पुगेको हो । जिल्लामा रहेका ३१ कार्यालयमध्ये १४ कार्यालयमा पूर्ण क्षति भएको छ भने १५ वटामा आंशिक मात्र क्षति पुगेको छ । भूकम्पबाट डिभिजन सडक र मालपोत कार्यालय मात्र बचेका छन् ।

जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, जिविस, सरकारी वकिल, खानेपानी, जिल्ला प्राविधिक, भूसंरक्षण, सैन्य तालिम केन्द्र, मत्स्य अनुसन्धान केन्द्र, घरेलु तथा साना उद्योग विकास कार्यालयलगायतको भौतिक संरचना पूर्ण रुपले नष्ट भएका छन् ।

वन, हुलाक, कोष तथा लेखा नियन्त्रण कार्यालय, बागवानी, जिल्ला अदालत, कृषि, पशु कार्यालय आंशिक रुपमा भत्किएका छन् । आंशिक रुपमा भत्किएका कार्यालय झनै धराप भएकाले कर्मचारीले कार्यालयभित्र बसेर काम गर्न सकेका छैनन् ।

हेफरद्वारा चार हजार परिवारलाई राहत

महिला सशक्तीकरण र सर्वाङ्गीण विकासमा काम गर्दै आएको हेफर इन्टरनेसनल नेपालले परियोजना क्षेत्रका चार गाविसका चार हजार ५०० परिवारलाई पाल र कम्बल वितरण गरेको छ ।

संस्थाले जिल्लाका तुप्चे, बेलकोट, थानापति र पञ्चकन्या गाविसका भूकम्पबाट प्रभावित नागरिकलाई बस्नका लागि पाल, कम्बल र म्याट उपलब्ध गराएको हो ।

संस्थाले तुप्चे गाविसका एक हजार दुई सय, पञ्चकन्या गाविसका छ सय, थानापतिका एक हजार ३० र बेलकोट गाविसका एक हजार ७०० घरधुरीलाई राहत सामग्री उपलब्ध गराएको हो । साना किसान उद्यमी सबलीकरण परियोजनामा आबद्ध महिला समूहसहित गाविसका हरेक धुरीलाई विपद् व्यवस्थापनका लागि राहत उपलब्ध गराइएको हेफर इन्टरनेसनल नेपाका चितवन क्षेत्रीय म्यानेजर प्रेम स्याम्बायुले जानकारी दिनुभयो ।

पञ्चकन्या गाविसमा परिवर्तनका निम्ति महिला समूह, बेलकोट गाविसका कार्डसन नेपाल र तुप्चे गाविसमा सहायता सामाजिक संस्थामार्फत महिला सशक्तीकरणको कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया