हिसानद्वारा विद्यालयको स्थलगत अनुगमन

इनेप्लिज २०७२ जेठ २ गते ३:४० मा प्रकाशित

extra curricular activitiesकाठमाडौँ, २ जेठ । उच्च मावि सङ्घ हिसानले भूकम्पबाट प्रभावित विद्यालय तथा क्यम्पसहरुको स्थलगत अवलोकन सुरु गरेको छ ।

शुक्रबारदेखि अवलोकन सुरु गरेको हिसानले आज पनि बिहानैदेखि विभिन्न विद्यालय तथा क्याम्पसहरुमा गई अवलोकन गर्न लागिएको हिसान काठमाडौंका अध्यक्ष रामहरि सिलवालले जानकारी दिनुभयो ।

अवलोकनका क्रममा शुक्रबार पहिलो दिन काठमाडौं जिल्लाका २० वटा विद्यालय तथा क्याम्पसहरुको अवलोकन गरिएको छ ।

अध्यक्ष सिलवालले विद्यालय तथा क्याम्पसका भवनहरुको अवलोकन गर्नुका साथै त्यसका सञ्चालक तथा शिक्षकसँग छलफल गरिएको बताउनुभयो । एक हप्तासम्म स्थलगत अनुगमनलाई निरन्तरता दिइने अध्यक्ष सिलवालको भनाइ छ ।

क्षतिग्रत भनिएका सबै विद्यालय तथा क्याम्पसमा जाने योजना हिसानले बनाएको छ । स्थलगत अनुगमनका लागि हिसानका केन्द्रीय तथा काठमाडाँै जिल्लाका पदाधिकारी सहभागी भएका छन् ।

हिसानले भूकम्पबाट प्रभावित अन्य जिल्लाका आफ्नो समितिलाई पनि स्थलगत अवलोकन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको छ । स्थलगत अवलोकनबाट विद्यालय तथा क्याम्पसहरुको भौतिक अवस्था, अध्ययन अध्यापन कहिलेदेखि सुरु गर्न सकिने हो, के कस्ता सहयोगको आवश्यकता छ जस्ता विवरण पठाउन पनि हिसानले आग्रह गरेको छ ।

क्षतिग्रस्त भएका विद्यालयलाई हिसान आफैँले सहयोग गर्ने र सरकार तथा दातृ निकायहरुलाई सहयोगको आग्रह गर्ने तयारी गरिएको अध्यक्ष सिलवालले बताउनुभयो ।

हिसानअन्तर्गत काठमाडौं जिल्लामा झन्डै दुई सय र देशभरीमा झन्डै एक हजार उच्चमावि आबद्ध रहेको हिसान केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया