असुरक्षित घर भत्काउन थालियो

इनेप्लिज २०७२ जेठ १ गते १४:१७ मा प्रकाशित

635666729540468750काठमाडौं, १ जेठ । भूकम्पबाट असुरक्षित भएका काठमाडौँका बल्खु, स्वयम्भू र साँखुका घर नेपाली सेनाको नेतृत्वमा खटिएको टोलीले भत्काउन सुरु गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले भूकम्पपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा गरेका उद्धार तथा राहतका कामबारे जानकारी लिन आज गएको संसदीय समितिलाई उक्त जानकारी दिनुभएको हो ।

उद्धार तथा राहतबारे काठमाडौँमा अनुगमन गर्न खटिएको संसदीय समितिका काठमाडौँका संयोजक एवम् सभासद् माधवकुमार नेपाल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीबाट हालसम्म भएका उद्धार तथा राहतका कार्यक्रमबारे जानकारी लिएको थियो ।

गत वैशाख १२ गतेको भूकम्पमा परी काठमाडौँमा एक हजार २०५ र २९ गतेको पराकम्पनमा परी आठजनाको ज्यान गएको जानकारी टोलीलाई गराइएको थियो । त्यसैगरी, सात हजार ६२७ जना घाइते भएकामा छ हजार ८२८ जना उपचारपछि घर फर्केका छन् ।

समितिले आजसम्म ३० हजार ९६३ थान त्रिपाल र एक हजार ६३८ थान पालसहित राहत सामग्री पीडितलाई उपलब्ध गराएको जानकारी पनि समितिलाई दिएको छ ।

प्रतिक्रिया