चन्द्रनिगाहपुरमा सवारी दुर्घटनामा एकको मृत्यु, तीन घाइते

इनेप्लिज २०७२ वैशाख ३० गते १०:४२ मा प्रकाशित

accident-signरौतहट, ३० वैशाख । रौतहटको चन्द्रनिगाहपुरमा आज अपराह्न सवारी दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ ।

गौर चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत चन्द्रनिगाहपुर बजारमा ना१ख ७५१ नम्बरको ढुङ्गा बोकेको ट्रकले ठक्कर दिँदा इ–रिक्सामा सवार सर्लाही जिल्ला रानीगन्ज गाविस बस्ने करिब ३५ वर्षीय सन्तोष भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

दुवै एकै दिशामा गइरहेको अवस्थामा उक्त ट्रकले चन्द्रपुर नगरपालिकामा दर्ता रहेको ४५ नम्बरको इ–रिक्सालाई ठक्कर दिँदा रिक्सामा सवार अन्य तीनजना गम्भीर घाइते भएका थिए ।

घाइते हुनेमा इ–रिक्सा चालक चन्द्रपुर नगरपालिका बस्ने कुमार कोइराला, भोजपुर जिल्ला बस्ने बलराम कार्की, सर्लाही कालिन्जोर गाविस बस्ने रोजबहादुर गौतम रहेका छन् । घटनापछि ट्रक चालक फरार रहेका छन् ।

घाइतेमध्ये चिन्ताजनक अवस्थाका कुमार कोइरालाको थप उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ भने बाँकीको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।् उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया