नवलपरासीबाट नगद र जिन्सी सामान सहयोग

इनेप्लिज २०७२ वैशाख २९ गते १:१४ मा प्रकाशित

taking rice sackपरासी, २९ वैशाख । विनाशकारी भूकम्पबाट प्रभावित बनेका पीडितको सहयोगार्थ नवलपरासीमा करिब ५० लाख नगद र दुई करोड मूल्यबराबरको राहत सामग्री सङ्कलन भएको छ ।

विभिन्न सङ्घसंस्थाबाट सङ्कलन गरिएको सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाइने जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

यसैबीच जिल्लाबाट करिब दुई करोड मूल्यबराबरको राहत सामग्री सङ्कलन गरेर भूकम्प प्रभावित क्षेत्रमा पठाइसकेको छ । विभिन्न सङ्घसंस्थाले प्रदान गरेको त्रिपाल, लत्ताकपडा, औषधि र अन्य खाद्यान्न वस्तुलाई आवश्यकताअनुसार विभिन्न जिल्लामा पठाएको समितिले जनाएको छ ।

यसैगरी उद्योग वाणिज्य सङ्घले भूकम्पबाट पीडितको सहयोगार्थ करिब रु २५ लाख मूल्यबराबरको राहत सामग्री प्रभावित क्षेत्रमा पठाएको छ ।

सङ्घको नेतृत्वमा चलाएको एक हप्ता राहत सङ्कलन अभियानबाट उठेको नगद, खाद्यान्न सामग्री उद्योग वाणिज्य महासङ्घमार्फत भूकम्पपीडितलाई पठाएको सङ्घका अध्यक्ष भीमबहादुर थापाले बताउनुभयो ।
यसैबीच नवलपरासीका इँट्टा उद्योगले सङ्कलन गरेको करिब १० लाख मूल्यबराबरको त्रिपाल र खाद्यान्न धादिङका भूकम्पपीडितलाई पठाएको इँटा व्यवसायी सङ्घका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया