किड्नी फाउन्डेसनको राहत वितरण

इनेप्लिज २०७२ वैशाख २८ गते ४:०१ मा प्रकाशित

काठमाडौँ, २८ वैशाख । नेपाल किड्नी फाउन्डेसनले भूकम्प प्रभावित काभ्रे जिल्ला कोसीदेखा गाविसमा निःशुल्क स्वास्थ्थ शिविरसहितको राहत वितरण गरेको छ ।

श्रीराम उच्च माविमा गरिएको उक्त राहत वितरण कार्यको नेतृत्व किड्नी फाउन्डेसनका प्रमुख सल्लाहकार तथा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले गर्नुभएको थियो ।

राहत वितरण कार्यक्रममा ४८० थान त्रिपाल तथा कम्बल, खाद्यान्नलगायत दैनिक उपभोगका वस्तु पनि वितरण गरिएको फाउन्डेसनका संयोजक गणेश उप्रेतीले जानकारी गराउनुभयो ।

सोही अवसरमा नेपाल र अस्ट्रेलियाका चिकित्सक टोलीले ३०० जनालाई निःशुल्क स्वास्थ परीक्षण गरी आवश्यक औषधिसमेत वितरण गरिएको थियो ।

शिविरमा भूकम्पका कारण घाउचोट लागेका मानिसको उल्लेख्य सहभागिता थियो । स्वास्थ्य परीक्षणका क्रममा मानसिक तनावमा रहेका बिरामी धेरै भेटिएको उपचारमा संलग्न चिकित्सकले बताउनुभयो ।

भूकम्पको डर, त्रास र क्षतिका कारण यस्तो तनावको स्थिति लामो समयसम्म रहनेहुँदा भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनःनिमार्णसँगै मनोवैज्ञानिक परामर्श सेवा पनि सञ्चालन गरिनुपर्ने फाउन्डेसनका संस्थापक अध्यक्ष डा शक्ति बस्नेतले बताउनुभयो ।

मनसुन सुरु हुन गइरहेकाले पीडितको पहिलो माग बासका लागि आवश्यक पर्ने पाल र त्रिपाल थियो । मानिस पशुचौपाया र बचेका अन्नपात जोगाउनका लागि हरेक परिवारलाई कम्तीमा पाँचवटा त्रिपाल तत्कालै उपलब्ध गराउनुपर्ने प्रमुख निर्वाचन आयुक्त उप्रेतीले बताउनुभयो ।

त्यसपछि दोस्रो चरणमा जस्तापाता उपलब्ध गराई बर्सातबाट मानिसलाई सुरक्षित छु भन्ने अनुभूति गराउनुपर्ने उहाँले उल्लेख गर्नु भयो ।

प्रतिक्रिया