जग्गाधनीले जग्गा खाली गर्न भनेपछि …

इनेप्लिज २०७२ वैशाख २७ गते १:३१ मा प्रकाशित

रमेश लम्साल

aभक्तपुर, २७ वैशाख । ‘‘बस्दै आएको घर भत्कियो, भएका सबै सामान पनि पुरियो, लगाएको कपडा मात्रै बाँकी रहेको छ, अरू केही छैनन्, भत्किएको घर हेर्दै बसेका छौँ तर खुला स्थानमा बसेको भए पनि जग्गाधनीले तत्काल हट भन्दै आएको छ । हामी कहाँ जाने ?”
गोलमढी टोलका राजभाइ गोसाईंको पीडा हो यो । यही वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’मा परी घर भत्किएपछि नजिकै पाल टाँगेर बस्नुभएका गोसाईंलाई जग्गाधनी पुण्येश्वरी कर्माचार्यले आफ्नो जग्गा छाडेर जान पटक पटक दबाब दिएपछि मुख्य सचिव लीलामणि पौड्याललाई आफ्नो समस्या सुनाएर समाधान हुन्छ कि भन्ने आशा गर्नुभयो ।

शनिबार बिहान ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको सफाइका लागि पुग्नु भएका मुख्य सचिव पौड्याललाई गोसाईँले भेटन त सक्नु भएन तर त्यहाँ उपस्थित सञ्चारकर्मी तथा स्वयम्सेवकलाई भने आफ्नो समस्या सुनाउनुभयो । कर्माचार्यको पाँच आना जग्गामा सो टोलका ५२१ जनाले आश्रय लिएका छन् । नजिकै रहेको भक्तपुर नगरपालिकाको डम्पिङ साइटमा थुप्रिएको फोहोरले वातावरण दुर्गन्धित बनाएको छ । भंैचालोले भत्काएका मन जोड्न सकिएको छैन । थातथलो खोसिएका, आफ्नो भन्ने गुमेका र आश्रयसमेत राम्रोसँग नपाएका भूकम्पपीडित कोही नयाँ मान्छे देख्नेबित्तिकै आफ्नो समस्या सुनाउन भ्याइहाल्छन् ।

भूकम्पले दिएको पीडा र त्यसबाट उत्पन्न त्रासदीको बयान गरिसाध्य छैन । पीडामाथि थपिएका पीडा र आर्तनादले मानिस भयग्रस्त, चोटग्रस्त छन् । ती मध्येकी एक हुनुहुन्छ दिलमाया फसीकवा । उमेरले ६० हिउँद कटेको उहाँको कलेटी परेको ओठ, ननिदाएका आँखा अनि बस्ने बासको अभाव । त्रिपालमुनिको बास साँच्चै पीडादायक छ ।

सरकारले हालसम्म कुनै पनि राहत नदिएको दुखेसो पोख्ने उहाँलाई आजकल खाली जग्गा जग्गाधनीले तत्काल खाली गर्न दिएको उर्दीले थप समस्यामा पारेको छ । ‘‘ हामी कहाँ जाने, के गर्ने, कहाँ बस्ने , के खाने लौ न केही उपाय बताइदिनुप¥यो ’’ गहभरि आँसु पार्दै फसीकवाले भन्नुभयो ।

नजिकै बन्दा र फर्सी लटरम्म फलिरहेको छ तर गोलमढी टोलका भूकम्पपीडितका मनमा आजसम्म खुसीको रेखा फुल्न सकेको छैन । नगरपालिकाले लगत मात्रै उठाएर लगेको छ, तर अहिलेसम्म राहतका नाममा केही पनि पाइएको छैन, नेपाल रेडक्रस सोसाइटी तथा अन्य निजी क्षेत्रका सङ्घसंस्थाले दिएको राहतमा प्राणको डोरी धानिरहेको बताउने अधिकांश स्थानीय मनसुन अगावै स्थायी बसोबास सरकारले गरिदिओस् भन्ने प्रतीक्षामा छन् ।

निजी क्षेत्रले दिने राहत पनि चार पाँच दिनमा दिने र कहिले आउने हो भन्ने कुराको कुनै ठेगान नभएकाले प्राण धान्न पनि मुस्किल भएको बताउने स्थानीयवासीलाई पछिल्लो पटक खुला रहेको ठाउँबाट पनि हट्नुपर्ला भन्ने समस्याले सताएको छ । अर्का स्थानीयवासी रामबहादुर ग्वाँछ सरकारले राम्रोसँग आफूहरुको समस्या सुनिदिए पीडाको घाउमा मलहमपट्टी हुने थियो भन्नुहुन्छ ।

जग्गाधनी कर्माचार्य भने आफूहरु पनि भूकम्पपीडित भएकाले मिलेर बसाँै भनेको बताउनुहून्छ । ‘‘आफूलाई नभई त अरूलाई दिने कुरा भएन पनि । त्यही भएर अलिक पर सर्नुस् भनेको हो’’–तर उहाँको जग्गामा बसिरहेको अधिकांश भूकम्पपीडित भने उहाँको भनाइसँग सहमत छैनन् । भन्छन्–‘‘उहाँको घरलाई भूकम्पले कुनै नोक्सान गरेको छैन, कोही पनि उहाँका आफन्तलाई समस्यामा पारेको छैन, तर पनि हामीलाई दुःख दिने मनसायले जग्गा छाड्न भन्नुभएको छ ।’’

अर्का स्थानीयवासी हरिराम ग्वाँछ भन्नुहुन्छ–‘‘सरकारले त्रिपाल दियो रे, राहत बाँड्यो रे भन्ने सुनेको हुँ तर अहिलेसम्म हामीले पाएका छैनौँ, राहत त टाठाबाठाले मात्रै पाए, हाम्रो त नाम मात्रै लेखेर लगेको छ, अरू त निजी क्षेत्रका सङ्घसंस्थाले दिएको एक दुई पोका चाउचाउ र बिस्कुटमा जीवन धानेर बसेका छौँ ।’’

यहाँ भूकम्पका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ । घर तथा संरचना काम नलाग्ने गरी भत्किएका छन् । स्थानीय तहमा भएका भग्नावशेष हटाउने कामले पनि पूर्णता पाउन सकेको छैन जसका कारण सडकमा हिँड्न पनि डरलाग्दो रहेको छ ।

प्रतिक्रिया