ढोरपाटन सिकार आरक्षमा वन्यजन्तुको चोरी निकासी बढ्यो

इनेप्लिज २०७२ वैशाख २६ गते ८:२९ मा प्रकाशित

Dhorpatanम्याग्दी, २६ वैशाख । ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पछिल्लो समय वन्यजन्तुको चोरी निकासी बढ्दै गएको छ ।

म्याग्दी, बाग्लुङ र रुकुम जिल्लामा एक हजार १२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएर रहेको उक्त आरक्षमा सयौँ विभिन्न संरक्षित प्रजातिका जीवजनावर तथा पशुपक्षी चोरी सिकारीको निसानामा पर्न थालेका छन् ।

आरक्ष क्षेत्रमा चोरी सिकारी बढ्दै गए पनि आरक्ष कार्यालयले भने कति वन्यजन्तुको चोरी निकासी भएको छ भन्ने तथ्याङ्क राख्न सकेको छैन । आरक्षणका कर्मचारी कहिलेकाहीँ अनुगमनका लागि आरक्षको माथिल्लो भेगमा जाँदा तस्करले मारेर फालेको वन्यजन्तुको छाला, सिङलगायतका वस्तु लिएर कार्यालयमा राख्नेबाहेक अन्य कुनै काम हुन सकेको छैन ।

सिकारबाट विशेष गरी नाउर, झारल, मृग, कस्तुरीलगायतका वन्यजन्तुको चोरी सिकारी हुने गरेको ढोरपाटन सिकार आरक्ष कार्यालयका अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिनुभयो । कर्मचारी अभावले वन्यजन्तुको चोरी सिकारी सम्बन्धमा प्रभावकारी अनुगमन र नियन्त्रण गर्न नसकिएको कार्यालयले जनाएको छ ।

कार्यालयमा दरबन्दी ३२ जनाको भए पनि हाल २२ जना मात्र कार्यरत रहेका छन् । विभिन्न स्रोतबाट चोरी निकासी भएको खबर आउने गरेको भए पनि पक्रन नसकिएको श्रेष्ठले बताउनुभयो । स्थानीय लिला थापाले ढोरपाटन क्षेत्रभन्दा बाहिरका मानिसले आरक्ष क्षेत्रमा आएर वन्यजन्तुको चोरी निकासी गर्ने गरेको बताउनुभयो ।

जीवजन्तुका विभिन्न अङ्ग लाखौँ रुपैयाँमा बिक्री हुने भएकाले चोरी सिकारी बढेको हो । सुरक्षा व्यवस्था कडा बनाउन नसकेकाले पनि चोरी निकासी बढेको पाइएको छ । रुकुममा झन्डै ६० प्रतिशत, बाग्लुङमा २४ र म्याग्दीमा १६ प्रतिशत भूभाग फैलिएर रहेको आरक्षणलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया