शुल्क वृद्धि गर्ने निजी तथा आवासीय विद्यालयलाई कारबाहीको दायरामा ल्याइने

इनेप्लिज २०७२ वैशाख २६ गते ८:२५ मा प्रकाशित

कञ्चनपुर, २६ वैशाख । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरको शुल्क निर्धारण समितिले आफू खुसी शुल्क वृद्धि गर्नेे निजी तथा आवासीय विद्यालयलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।

तोकिएको मापदण्डविपरीत आफू खुसी शुल्क वृद्धि गर्ने विद्यालयलाई कारबाही गरिने जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले बताउनुभयो ।

विद्यालयको अनुगमन गरी पुरानै शुल्कको समेत पुनरावलोकन गछौँ उहाँले भन्नुभयो, “विद्यार्थीले पाउनुपर्ने सुविधा नदिई चर्को शुल्क असुल्ने विद्यालयलाई कारबाही हुन्छ ।” गत वर्ष स्विकृत शुल्क मात्रै विद्यालयले लगाउनुपर्ने उहाँले बताउनुभयो ।

गत वर्षनै शुल्क वृद्धि गर्ने आधा दर्जन विद्यालयको पुनरावलोकनको कार्य भइरहेको सहायक जिल्ला शिक्षा अधिकारी पदमराज भट्टले बताउनुभयो ।

उहाँका अनुसार १०० बढी निजी तथा आवासीय विद्यालयले शुल्क वृद्धिको प्रस्ताव गरेका छन् । शिक्षा मन्त्रालयबाटै शुल्क वृद्धि नगर्ने परिपत्र भएको उहाँले बताउनुभयो । “केही विद्यालयले शुल्क वृद्धि गरी विद्यार्थी भर्ना गरेको गुनासासमेत आएकाले चाँडै अनुगमन गरी त्यस्ता विद्यालयलाई कारबाही गछौँ” उहाँले भन्नुभयो ।

कञ्चनपुरमा ५०० भन्दा बढी निजी तथा आवासीय विद्यालय सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया