चार जना रेडक्रसकर्मीको मृत्यु

इनेप्लिज २०७२ वैशाख २४ गते ११:०३ मा प्रकाशित

red_crossकाठमाडौँ, २४ वैशाख । हादैको विनाशकारी भूकम्पले हालसम्म चार जना रेडक्रसकर्मीको मृत्यु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका कार्यरत वरिष्ठ प्राविधिक सहायक लालमाया गुरुङ, रक्त सङ्कलक स्वयम्सेवक सानुमैया कपाली र सिम्रन डङ्गोल तथा रसुवाका रेडक्रसकर्मी जितनाथ तिमल्सिनाको मृत्यु भएको सोसाइटीले जनाएको छ ।

प्राविधिक सहायक गुरुङ, स्वयम्सेवकद्वय कपाली र डङ्गोलको सोही दिन काठमाडौंस्थित काष्ठमण्डपमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहँदा काष्ठमण्डपले किचिएर मृत्यु भएको केन्द्रीय रक्तसञ्चार सेवाका प्रशासकीय अधिकृत जीवनतारा भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो दिन काठमाडौंका ११ स्थानमा रक्तदान कार्यक्रम भइरहेको थियो । अन्य स्थानमा खटिएका प्राविधिक, स्वयम्सेवक र केही रक्तदाता सामान्य घाइते भएका छन् ।

यसैबीच दिवङ्गत रेडक्रसकर्मीको सम्झनामा नेपाल रेडक्रस सोसाइटीले आज यहाँ भावपूर्ण श्रद्धाञ्जलि कार्यक्रम आयोजना ग¥यो ।

सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरत्न धाख्वा, सञ्चार विभागका प्रमुख दिव्यराज पौडेल तथा प्रशासकीय अधिकृत भट्टले मानवीय सेवामा तल्लिन हुँदाहुँदै ज्यान गुमाएका रेडक्रसकर्मीको योगदानको स्मरण गर्नुभयो ।

उहाँहरुले भूकम्पको विपत्तिमा परेकाको खोज, उद्धार तथा राहत वितरणमा सोसाइटी अहोरात्र खटिरहेको जानकारी दिँदै दिवङ्गतका परिवारजनलाई सोसाइटीका तर्फबाट सक्दो सहयोग पुर्‍याउने जानकारी दिनुभयो ।

छिमेकी देशबाट रगत ल्याउनुपर्ने अवस्था छैन: रक्तसञ्चार सेवा केन्द्र

विनाशकारी भूकम्पको घाइतेका उपचारका लागि आवश्यक पर्ने विभिन्न समूहका रगत केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र केन्द्रअन्तर्गतका जिल्ला शाखामा पर्याप्त मात्रामा रहेको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रशासकीय अधिकृत जीवनतारा भट्टले दिनुभएको जानकारीअनुसार केन्द्रमा करिब एक हजार तथा घाइतेको उपचार भइराखेका उपत्यकाभित्र ट्रमा सेन्टर, त्रिभुवन शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल मेडिकल कलेज जोरपाटी, पाटन अस्पताललगायतका अस्पतालमा ५०० युनिट रगत सञ्चित रहेका छन् ।

गत शनिबारदेखि हालसम्म केन्द्रमा मात्र करिब चार हजार युनिट रगत सङ्कलन भएको र तीमध्ये तीन हजार युनिट रगत अस्पतालले लगेको उहाँले बताउनुभयो ।

भूकम्पका घाइतेको उपचारका लागि केन्द्रले निःशुल्क रुपमा रगत उपलब्ध गराएको छ । अति प्रभावित १४ र प्रभावित ३१ जिल्लामा रहेका रेडक्रस सोसाइटीअन्तर्गतका रक्तसञ्चार केन्द्रमा पनि रगत सञ्चित रहेको छ ।

“यो विपत्तिमा परी घाइते भएकाको उपचारका लागि आवश्यक पर्ने रगत अन्य देशबाट ल्याउनुपर्ने अवस्था छैन र ल्याउँदैनौँ”– अधिकृत भट्टले भन्नुभयो ।

आफ्नै रक्तसञ्चार सेवा केन्द्र(ब्लड बैंक) रहेका अस्पतालले पनि आन्तरिक रक्तदानको कार्यक्रम सञ्चालन गर्दै रगतको जोहो गरिरहेका छन् । खासगरी अस्पतालमा ‘कोल्ड चेन मेन्टिनेन्स’ उपकरण नहुँदा केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा रगतको माग बढ्ने गरेको हो ।

केन्द्रले अगामी दिनमा रगतको अभाव हुन नदिनका लागि स्वयम्सेवी रक्तदातालाई पनि तयारी अवस्थामा राखेको छ । यस्तो अवस्थामा तीन हजार स्वयम्सेवी रक्तदाता रहेका छन् ।

प्रतिक्रिया