रत्ननगर (चितवन), २४ वैशाख । भूकम्पका कारण पीडित बनेका स्थानीय सर्वसाधारणको सहयोगार्थ चितवनका राजनीतिक दलले राहत सङ्कलन अभियान थालेका छन् ।
दलको नेतृत्वमा बनेको सर्वदलीय सर्वपक्षीय राहत सङ्कलन संयन्त्रले जिल्लामा राहत सङ्कलन अभियान सुरु गरेका हुन् । आजसम्म उक्त अभियानअन्तर्गत रु ३३ लाख रकम सङ्कलन भइसकेको र अभियान जारी रहेको नेपाली काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत आज थप रकम रत्ननगर नगरपालिकाको सर्वदलीय संयन्त्र र जुटपानीको सर्वदलीय संयन्त्रले राहत रकम जिल्लास्तरीय संयन्त्रलाई बुझाउने तयारी गरेको श्रेष्ठले बताउनुभयो ।
यसअघि खैरहनी भूकम्प पीडित सहयोग समितिबाट रु छ लाख २५ हजार, भरतपुर उपमहानगरपालिका–८ गुञ्जानगरको समितिले रु चार लाख ३९, चितवन उद्योग सङ्घले रु दुई लाख ५१ हजार सहयोग गरेको संयन्त्रले जनाएको छ ।
यस्तै पोल्ट्री व्यवसायीका तर्फबाट रु दुई लाख एक हजार, उद्योग वाणिज्य सङ्घ चितवनबाट रु एक लाख ५१ हजार, सनराइज बोर्डिङबाट रु एक लाख पाँच हजार, वाल्मिकी क्षिक्षा सदनबाट रु एक लाख, ज्ञानेश्वर सामुदायिक वनबाट रु एक लाख सहयोग प्राप्त भएको छ ।
प्रतिक्रिया