धुर्मुस–सुन्तलीको जोडी राहत वितरण अभियानमा

इनेप्लिज २०७२ वैशाख २३ गते १०:१० मा प्रकाशित

11195560_10152970164052950_348027739_n

एक महिनाअघिमात्रै साढे दुई महिनाको कार्यक्रम लिएर अमेरिका उडेका हास्य कलाकार दम्पती सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) देशमा गएको विनाशकारी भूकम्पका कारण नराम्ररी आहत भए । वैशाख १२ गतेको महाभूकम्पका कारण उनीहरुले सबै कार्यक्रम स्थगित गरी भूकम्पपीडितको राहतका लागि राजधानी उत्रिए ।

11210374_10152970163982950_241840304_n

तर यी चर्चिक कलाकार खाली हात आएनन्, भूकम्पपीडितलाई सहायता गर्न धुर्मुस–सुन्तली सरसफाइ कार्यक्रमबाट उठेको १६ लाख ५० हजार रुपैयाा लिएर आए । राजधानी उत्रनेबित्तिकै नेपालीलाई परेको विपत्तिमा मल्हम लगाउने अन्तर्मनको भावनालाई व्यवहारमा लागू गर्न लागिपरे ।

11128388_10152970164002950_2101052638_n (1)

हिमालय खबर डटकमसँगको कुराकानीका क्रममा उनीहरुले साढे दुई महिनाको कार्यक्रमका लागि झन्डै एक महिनाअघि अमेरिका पुगेको बताए । सीतारामले भने, ‘तर एकाएक देशमा आइपरेको विपत्तिले गर्दा त्यहाँ हँसाएर बस्न मनले मान्दै मानेन् । र, पीडितलाई सहयोग गरौँ भन्ने भाव उत्पन्न भयो । त्यसकारण बाँकी सबै कार्यक्रम रद्ध गरेर फर्कियौँ ।
आइतबारदेखि देखि नै यो जोडी भूकम्पपीडितहरुको राहतमा खटिएको छ भन्छन I अमेरिकाबाट टेन्टको व्यवस्था गर्न लगाएको थिएँ । सोमबार नुवाकोटको ओखरपौवाका लागि टेन्ट तथा खाद्यान्नको बन्दोबस्तमा लाग्यौँ, जसले गर्दा राति ११ बजे मात्र घर पुग्यौँ, उनले भने, ‘अनि बिहान ६ बजे उठेर हाम्रो टोली ओखरपौवातिर लाग्यो । ओखरपौवा ८ र ९ वडाका भूकम्पपीडितलाई ६१ टेन्ट, सय बोरा चामल, चाउचाउलगायत सामग्री वितरण गर्‍यौँ ।’

11122458_1077900265560047_1772822657_n

सीतारामले आफूहरूले जोहो गरेको राहत पीडितलाई प्रत्यक्ष रूपमै वितरण गर्ने बताए । ‘कतिपयले राहत सामग्री अरूलाई जिम्मा लगाएर फर्कने गरेको पाइएको छ । तर, हामी भने आफ्नै हातले वितरण गछौँ,’ उनले भने । राहत वितरणमा सीतारामका साथमा पत्नी कुञ्जना, भद्रगोलका जिक्री (कुमार कट्टेल), पाँडे (अर्जुन घिमिरे), कक्रोच (हरि निरौला), मेरी बास्सैका सुरेश दर्शनेलगायतको टोली खटिएको छ ।

मंगलबार काभ्रे, कोसीपारिको माझीगाउँका पीडितलाई राहत वितरण गरिएको उनले बताए । सो माझीगाउँमा अहिलेसम्म न सरकार न त निजी क्षेत्र, कसैले पनि राहत नपुर्‍याएकाले आफूहरू डाक्टर र नर्सको टोलीसहित त्यहाँ पुग्ने लागेको उनले बताए ।

‘हामी गणेशमान मेमोरियल हस्पिटलका डाक्टर र नर्ससहित राहत सामग्रीसहित त्यहाँ गयौँ । आफूहरूले एम्बुलेन्स लिएर गएकाले घाइतेको उपचारमा पनि निकै मद्दत पुगेको जनाउँदै उनले भने, ‘एम्बुलेन्सभित्र बिरामीको अप्रेसनसमेत गर्न मिल्ने व्यवस्था मिलाएका छौँ ’ – उनले बताए I

सीताराम र कुञ्जनाको धुर्मुस–सुन्तली सरसफाइ महाअभियानलाई अमेरिकामा धेरै संघ–संस्था तथा व्यक्तिले साथ दिएका थिए । जसबाट आफूहरू नेपालमा सरसफाइसम्बन्धी धेरैवटा प्रोजेक्ट ल्याउने तयारीमा रहेको उनले जानकारी दिए । तर, देशमा परेको महाविपत्तिका कारण सबै कुरा स्थगित गरी उनीहरू फर्किए । ‘हामी त्यहाँ २७ वटा प्रोग्रामका लागि गएका थियौँ । स–साना ठाउँमा नौवटा प्रोग्राम त गर्‍यौँ । बाँकी सबै स्थगित गरेर फर्कियौँ ।

जसले गर्दा आयोजकलाई धेरै घाटा लागेको छ,’ उनले भने, ‘सरसफाइ अभियानलाई साथ दिन धेरै संस्था तथा व्यक्ति तयार भएका छन् । हामीले देशभरका राजमार्गको हरेक ५० किलोमिटरमा शौचालय, रिङरोडमा सार्वजनिक शौचालय बनाउनेलगायत एजेन्डा राखेका छौँ । उनीहरू तयार छन् ।’

सरसफाइ अभियानका लागि आफूहरूले गरेको प्रोग्राम हेर्न आएका दर्शकले गरेको सहयोग तथा आफूहरूको पारिश्रमिक रकम भूकम्पपीडितको राहतमा लगाएको उनले बताए । ‘एक महिना अमेरिकामा कार्यक्रम गर्दा हामी मुस्किलले एक हप्ता सुत्यौँ होला,’ उनले सम्झिए, ‘नत्र अहोरात्र खटेका छौँ । कतिपय कार्यक्रमस्थल पाँच–सात घन्टा गाडी, प्लेनको यात्राबाट मात्रै पुगिन्थ्यो । त्यसले गर्दा पनि कहिल्यै आरामले निदाउन पाइएन ।’ उनले भूकम्पमा परी निधन भएका नेपालीको सम्झनामा त्यहाँ शोकसभासमेत गरेको बताए ।

नाबालक छोरीलाई दिदीभिनाजुको जिम्मामा छोडेर पीडितको उद्धार र राहत वितरणमा लागेका छन् कट्टेलदम्पती । ‘म आफैँले टेन्ट लोड गरिरहेको छु,’ उनले भने, ‘म पीडित नेपाली दाजुभाइ दिदीबहिनीको सेवा गर्न कत्ति पनि पछि हट्दिनँ । यसमा मलाई मेरो टिमले निकै साथ दिएको छ ।’ उनी राहतका सामग्री बोकेर देशभरका पीडितको दैलोसम्म पुग्ने लक्ष्यमा छन् ।

आज बुधबार बिहानै गोरखा र धादिङका प्रभावित क्षेत्रमा जाने टोलीको योजना छ । भूकम्पपीडितलार्इ अहिले खाद्यान्नभन्दा पनि टेण्ट, म्याट र खानेपानीको समस्या रहेको टोलीले जनाएको छ ।

11117711_1077900322226708_2131480549_n

प्रतिक्रिया