बिर्तामोडमै जुट्यो करिब साठी लाख बढीको राहत

इनेप्लिज २०७२ वैशाख २० गते १२:१८ मा प्रकाशित

सुरेन्द्र भण्डारी

Rss_Images_1430644487883_SB-Jhapa-Rahat sankalanसुरुङ्गा (झापा), २० वैशाख । झापा उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको अगुवाइमा भूकम्पपीडितका लागि रु २७ लाखभन्दा बढीको राहत सामग्री जुटेको छ ।

आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त राहत सामग्रीको विवरण सार्वजनिक गरियो । रु २७ लाख २४ हजार ४४२ मूल्यको राहत सामग्री गोर्खाका भूकम्पपीडितलाई प्रदान गरिने वाणिज्य सङ्घ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी दिनुभयो । जसका लागि तीन वटा मालबाहक ट्रकमा राहतसहितको टोली आज नै गोर्खातर्फ प्रस्थान गरेको छ ।

गोर्खामा भोलि सोमबार बिहान ती सामग्री वितरण गरिने बताइएको छ । रेडक्रस सोसाइटी बिर्तामोडका कार्यबाहक सभापति निर्मल भट्टराईका अनुसार एक हजार ३०० बोरा मन्सुली चामल, १०० बोरा आयो नुन, १४८ बोरा चिउरा, १०० कार्टुन बिस्कुट, १८ बोरा दालमोठ, ५०० थान त्रिपाल, ३०५ थान कम्बल, एक हजार कार्टुन चाउचाउ, २७२ थान मेट्रेस र १०० बोरा मटर राहतस्वरुप पठाइएको छ ।

भूकम्पपीडितका लागि उक्त राहत सामग्री मेची अञ्चलबाट गएको सबैभन्दा ठूलो परिमाणको भएको बताइएको छ । वाणिज्य सङ्घ र रेडक्रस बिर्तामोडको अगुवाइमा अन्य २२ वटा संस्थाको समन्वय र सहयोगबाट उक्त सामग्री जुटाइएको रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटीले जानकारी दिनुभयो ।

उक्त राहत सामग्रीका लागि भारत हरियाणाको शिव मन्दिर कोलरीबाट रु १९ लाख ५८ हजार ४००, बाबा इन्टरप्राइजेजबाट रु १३ हजार ५००, जगतबस्ती शान्ति टोलबाट रु १७ हजार ८००, विमली बन्धु समाजबाट रु ५१ हजार, पुनर्जन्म समूह नेपालबाट रु ५१ हजार १००, बिर्तामोड बजार क्षेत्रका उद्योगी व्यवसायी तथा दाताहरुबाट रु पाँच लाख १७ हजार ९४२, क्यान महासङ्घ झापाबाट रु ११ हजार, एकता हेड्सबाट रु १० हजार, व्यवसायी निर्मल भट्टराईबाट रु ११ हजार, निर्माण व्यवसायी सङ्घबाट रु २५ हजार, ओम अग्रवालबाट रु ११ हजार र वाणिज्य सङ्घ बिर्तामोडले यसअघि सङ्कलन गरेको दैवी प्रकोप राहत कोषबाट रु ७८ हजार जुटाइएको वाणिज्य सङ्घ बिर्तामोडका सचिव किरण श्रेष्ठले जानकारी दिनुभयो ।

बिर्तामोडबाट गोर्खा जाने टोली

राहत वितरणका लागि विभिन्न सङ्घसंस्थाको प्रतिनिधित्व गर्दै बिर्तामोडबाट बलराम कार्की, किरण श्रेष्ठ, निर्मल भट्टराई, प्रशान्त भण्डारी, ओमकृष्ण विमली, दीपेश पाठक, विशाल थापा, हेम खड्का, वीरबहादुर दर्नाल, ओमप्रकाश लुइँटेल, बाबुलाल अग्रवाल, घनश्याम चौधरी, कुमार थापा, गोपाल चम्लागार्इं, हरि खनालसहित नेपाल पत्रकार महासङ्घ झापाका सचिव एकराज गिरी र फोटो पत्रकार विनोद पाण्डे गोर्खा प्रस्थान गरेका छन् ।

पन्ध्र लाखको राहत सिन्धुपाल्चोक

यसअघि बिर्तामोडवासीको तर्फबाट सिन्धुपाल्चोकका ८५१ परिवारका लागि रु १५ लाखको राहत सामग्री लिएर आजै एक टोली त्यसतर्फ प्रस्थान गरेको टोलीका अगुवा हर्कलाल गिरीले बताउनुभयो ।

अठार लाखको राहत प्रजिअलाई हस्तान्तरण

बिर्तामोडको शनिश्चरे रोड क्षेत्रका व्यवसायी तथा स्थानीय विभिन्न टोलवासीले जुटाएको रु १८ लाखको राहत सामग्री आज प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेललाई हस्तान्तरण गरिएको छ । स्थानीय व्यवसायी तथा झापा उद्योग वाणिज्य सङ्घ शाखा बिर्तामोडका उपाध्यक्ष प्रकाश शिवाकोटीले सो राहत सामग्री प्रमुख जिल्ला अधिकारी पौडेललाई हस्तान्तरण गर्नुभयो ।

उक्त राहत त्रिवेणी टोल समिति, त्रिवेणी युवा क्लब, बालाजी टोल, पाथीभरा टोल, देवीबस्ती टोल र अलस्का अटो मोबाइल्स प्रालिको सहयोग, समन्वयमा जुटाइएको बताइएको छ ।

प्रतिक्रिया