काठमाडौँ, २० वैशाख । विनाशकारी भूकम्प आएको आज आठ दिन बितेको छ । प्राकृतिक विपत्तिले हालसम्म सात हजार १६७ को निधन भइसकेको छ भने १४ हजार ५९ घाइते भएका छन् ।
हजारौँ पशुचौपाया र धनजनको क्षति भएको छ । यो पछिल्लो तथ्याङ्क आइरहँदा बेपत्ता भएका नागरिक अब जीवितै फेला पर्ने अवस्था कस्तो रहेको छ भन्नेमा चासो पनि रहेको छ । खोजी र उद्धारमा संलग्नले कम्तीमा १० दिनसम्म मान्छे जीवितै फेला पर्न सकिने बताउँदै आएका छन् । करिब पाँच लाख परिवार भूकम्पबाट प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।
काठमाडौँ उपत्यकाभित्रका केही स्थानमा अझै पनि उद्धार जारी रहेका कारण सयौँ नागरिक हराइरहेको आशङ्का गरिएको छ । भक्तपुरका सहरी क्षेत्रमा अझै पनि उद्धारको काम जारी छ । उद्धार जारी रहेका कारण केही न केही सङ्ख्यामा जीवित नागरिक भेटिने सम्भावना पनि कायमै छ ।
सिन्धुपाल्चोकको फुलपिङकट्टी, तातोपानी र लिस्तीकोट गाविसमा भूकम्पबाट के कति जनधनको क्षति भयो भन्नेबारेमा आजसम्म यथार्थ विवरण आइसकेको छैन । ती स्थानमा आजसम्म पनि प्रभावकारी रुपमा सरकारी उपस्थिति हुन सकेको छैन । केही नागरिक अझै जीवित नै उद्धार गर्न सकिने सुरक्षा निकायको अनुमान छ ।
भूकम्पले अति नै प्रभावमा पारेको भक्तपुरको सहरी क्षेत्रमा भत्किएका घर तथा भौतिक संरचनाभित्र कति नागरिक पुरिएका छन् भन्नेबारेमा आजसम्म कुनै पनि जानकारी प्राप्त हुन सकेको छैन ।
धादिङको उत्तरी क्षेत्रका लापा, सेर्तुङ, तिप्लिङ, झार्लाङ, फूलखर्क, दार्खालगायत स्थानमा भएको क्षतिबारे हालसम्म कुनै पनि यथार्थ जानकारी आउन सकेको छैन । यस सन्दर्भमा उद्धारकर्मीले केही नागरिक जीवितै उद्धार हुन सक्ने सम्भावनालाई भने अस्वीकार गरेका छैनन् ।
अन्तर्राष्ट्रियस्तरमा गएका भूकम्पमा परी आठ दस दिनसम्म भग्नावशेषको खोजी गर्दा केही नागरिक जीवितै फेला परेका थिए । गत शनिबार गएको भूकम्पमा बालाजुमा पेम्बा लामाको १२० घन्टामा सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले उद्धार गरेको छ । यस्तै १२८ घन्टापछि कृष्णकुमारी खड्काको जीवितै उद्धार गरिएको छ ।
खोज तथा उद्धारमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले केही नागरिक अझै पनि जीवित नै फेला पार्ने आशा गरिरहेका छन् । नेपाली सेनाले अझै आस मारिनसकेको जनाएको छ । नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले भन्नुभयो–‘‘आशा मारिसकेका छैनाँै, सूचना प्राप्त भए तत्कालै रेस्पोन्स गर्छौंँ ।’’
भूकम्पपीडितको राहत तथा उद्धारका लागि सेनासँगै सक्रिय रुपमा कार्यक्षेत्रमा खटिएको सशस्त्र प्रहरी बलले पनि जीवितै उद्धार गर्न सकिन्छ कि भनेर अझै लागि परेको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तले खोज, उद्धारलाई जारी राखिएका कारण मुलुकका विभिन्न क्षेत्रमा जीवितै रुपमा नागरिक उद्धार हुने सम्भावना रहेको बताउनुभयो । ‘‘सूचना आउनासाथ बल परिचालित भइहाल्छ, आशा गरौँ जीवितै उद्धार होस् र केही नागरिकको भए पनि जीवन बचोस् भन्ने पक्षमा हामी छौँ’’, वन्तले भन्नुभयो ।
भूकम्पपीडितले उद्धारकर्मी समयमा नै नआइपुग्दा जीवितै उद्धार हुन सक्ने नागरिक पनि मृत्युको मुखमा पुगेको बताएका छन् । राजधानीको नयाँ बसपार्क, गोङ्गबु, स्वयम्भूलगायत स्थानमा उद्धारकर्मी समयमा पुग्न नसक्दा घाइते तथा च्यापिएकाहरु अनाहकमा नै मृत्युवरण गर्न बाध्य भएका छन् ।
प्रतिक्रिया