भूकम्पको कारण साठी प्रतिशत होटेल प्रभावित

इनेप्लिज २०७२ वैशाख २० गते ४:४२ मा प्रकाशित

458614_391818670845634_229749633_oजनकपुर, २० वैशाख । राजधानीलगायत विभिन्न पहाडी जिल्ला महाभूकम्पको चपेटामा परेपछि यसको प्रत्यक्ष प्रभाव जनकपुरको पर्यटन व्यवसायीमा परेको छ ।

धार्मिक तथा ऐतिहासिक पर्यटकीय नगरी जनकपुरधाममा भूकम्पको कारण तीर्थयात्री आउन छाडेपछि यहाँको ६० प्रतिशत होटल प्रभावित भएको सञ्चालकको भनाइ छ । विनाशकारी ‘गोरखा भूकम्प’का कारण स्वदेशी तथा विदेशी पर्यटक जनकपुर आउन छाडेपछि यसको प्रत्यक्ष प्रभाव पर्यटनमा पर्न गएको होटल व्यवसायी सङ्घका केन्द्रीय सदस्य विजयझुनझुन वालाले बताउनुभयो ।

पर्यटकीय गणतव्यस्थलका रुपमा रहेको धार्मिक नगरी जनकपुरधाममा ६० प्रतिशत भारतीय तथा ४० प्रतिशत स्वदेशी तथा विदेशी पर्यटक आउने गरेकामा महाभूकम्पपछि भारतीय पर्यटकसमेत आउन छाडेका छन् भने अर्कातिर यहाँको व्यापारसमेत प्रभावित भएको छ । यहाँ हालसम्म होटल व्यवसायतर्फ रु तीन अर्बभन्दा बढी लगानी भइसकेको छ ।

भूकम्पका कारण जनकपुरको प्रसिद्ध जानकी मन्दिरको बुर्जा तथा मठमन्दिरमा आंशिक प्रभाव परेको छ । जनकपुरको जनजीवन सामान्य बन्दै गए पनि भूकम्पको कारण पर्यटक आउन सकेका छैनन् ।

प्रतिक्रिया