सल्लेरी (सोलुखुम्बु), १९ वैशाख । सगरमाथा आरोहणका लागि आएका आरोहीहरु यहाँबाट धमाधम फर्किन थालेका छन् ।
सगरमाथा आधार शिविरबाट शनिबारसम्म ३८ वटा टोली काठमाडौँ फर्किसकेको छ । भूकम्पका कारण आधार शिविरमा १४ विदेशी तथा चार नेपालीको ज्यान गएपछि आरोहीहरु अहिले धमाधम फर्किन थालेका हुन् । अझै आठ वटा टोलीका सदस्यहरु फर्किने तयारीमा रहेको सगरमाथा आधार शिविरबाट सदरमुकाम सल्लेरी फर्केका आरोही आङ्ठुला शेर्पाले जानकारी दिनुभयो ।
“आरोहीहरु काठमाडौँ फर्किने उपयुक्त मौसम पर्खेर बसेका छन्,” उहाँले भन्नुभयो । भूकम्पपछि आधार शिविरमा आएको हावाहुरीका कारण कतिपय आरोहीको सामान हराएको उहाँले बताउनुभयो । आरोहीले अझैसम्म आफ्ना हराएको सामानहरुको खोजी गरिरहेका छन् ।
सोलुखुम्बुमा भूकम्पबाट अहिलेसम्म २२ जनाको मृत्यु भएको छ भने एक हजार पाँच सयभन्दा बढी घाइते भएका छन् ।
प्रतिक्रिया