रसुवामा अझै तीन सय हराइरहेको आशङ्का

इनेप्लिज २०७२ वैशाख १९ गते १०:५४ मा प्रकाशित

earthquake_hemanta_shrestha_04_20150429091543.gifकाठमाडौँ, १९ वैशाख । रसुवा जिल्ला प्रशासन कार्यालयले भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई रु ४० हजारका दरले तत्कालीन राहतस्वरुप रकम उपलब्ध गराउन सुरु गरेको छ ।

सो जिल्लामा भूकम्पमा परेर ३०४ जनाको निधन भएको थियो । हालसम्म उत्तरी लाङ्टाङ गाविसमा मात्रै ३०० को हाराहारीमा नागरिक बेपत्ता भएको अनुमान गरिएको छ । सो जिल्लामा भूकम्पमा परेर घाइते भएका ८०० मध्ये अधिकांश प्राथमिक उपचारपछि घर फर्किसकेका छन् । गत शनिबार गएको भूकम्पमा परी सो जिल्लाका १८ वटै गाविसका ९० प्रतिशत अर्थात् नौ हजार घर पूर्ण क्षतिमा परेको प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ गौतम रिमालले राससलाई जानकारी दिनुभयो ।

लाङ्टाङ क्षेत्रबाट भूकम्पमा परेर फसेका ३०० भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकलाई उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले राहतलाई प्रभावकारी तुल्याउन पाँच टोली गठन गरेकामा सो टोलीले काम सुरु गरिसकेको छ । हालसम्म दुई हजार २०० थान पाल पीडित परिवारलाई वितरणका लागि पठाइसकिएको जानकारी दिँदै उहाँले जिल्ला रेडक्रसले १०० थान कम्बल र विश्व वन्यजन्तु कोषले उपलब्ध गराएको १६० थान पाल उपलब्ध गराएको बताउनुभयो । भूकम्पबाट जिल्लामा नवनिर्मित जिल्ला अदालतबाहेक अन्य सबै सरकारी कार्यालय क्षतिग्रस्त भएका छन् ।

प्रतिक्रिया