भूकम्पबाट २२ हजार घरमा क्षति

इनेप्लिज २०७२ वैशाख १९ गते १०:५० मा प्रकाशित

kirtipur-1ललितपुर, १९ वैशाख । गत शनिबार गएको भूकम्पमा परेर ललितपुरमा मात्र २२ हजार ४२३ घरमा क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयले लिएको क्षतिको प्रारम्भिक विवरणअनुसार उक्त आँकडा आएको प्रजिअ यादवप्रसाद कोइरालाले वताउनुभयो । जनगणना विसं २०६८ को तथ्याङ्कअनुसार जिल्लामा एक लाख नौ हजार ७९७ घरधुी छ । भत्किएका घरमध्ये करिब १६ हजार पूर्ण रुपमा र बाँकी आंशिक रुपमा क्षति भएको पाइएको छ । आंशिक रुपमा नष्ट भएका घरमा बसोबास गर्न मिल्ने अवस्थामा नरहेको स्थानीयवासीले बताएका छन् ।

क्षतिग्रस्त घरमध्ये अधिकांश जिल्लाको दक्षिणी भेगमा पर्ने १९ गाविसमा छन् । कुल घरधुरीमध्ये ललितपुर उपमहानगरपालिकाबाहेक आधा गाउँमा परेकोे छ । जिल्लाका दक्षिणी भेगमा पर्ने भट्टेडाँडा गाविसमा रहेका ४२९ घरमध्ये मुस्किलले ३० देखि ४० घर बाँकी रहे तापनि बस्नका लागि उचित नभएको स्थानीयवासी रामहरि घिमिरेले बताउनुभयो । त्यसैको छिमेकी इकुडोल गाविसमा रहेका सबै ३६० घर ध्वस्त भएका छन् ।

यस्तै शङ्खु तथा कालेश्वर गाविसमा रहेका ४६२ र २९६ घरमध्ये १० प्रतिशत मात्र बाँकी रहेको स्थानीयवासीले बताएका छन् । आश्राङ, प्युटार, बुखेल, चन्दनपुर, गोटीखेल, चौघरे, घुसेल, गिम्दी, मानीखेल, दलचोकीलगायत गाविसमा समेत ९० प्रतिशत घर भूकम्पका कारण नष्ट भएका छन् । यसबाहेक काँठ क्षेत्रमा रहेका चापागाउँ, बुङ्मती, खोकना, डुकुछाप, हरिसिद्धि, ठैब, गोदामचौर, सिद्धिपुर, लुभु, लाँकुरीभन्ज्याङलगायत क्षेत्रमा अत्यधिक मात्रामा भूकम्पबाट घरमा क्षति पुगेको छ ।

भूकम्पका कारण जिल्लामा रहेका ३०४ सरकारी भवनमा क्षति पुर्‍याएको छ । अधिकांश कार्यालयमा क्षति पुगेपछि बाहिर बसेर दैनिक काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै जिल्लामा रहेका मठमन्दिरमध्ये ८४ पूर्ण रुपमा क्षति भएको छ भने आंशिक मात्रामा १२३ वटामा भूकम्पले क्षति पुर्‍याएको कार्यालयमा जनाएको छ ।

प्रतिक्रिया