काठमाडौँ, १९ वैशाख । गत शनिबार र आइतबार गएको भूकम्पमा परी मर्नेको सङ्ख्या छ हजार ६२१ पुगेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले केही बेरअघि उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १४ हजार ५६६ पुगेको छ ।
भूकम्पका कारण १० हजार ४६४ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार १६८ घर तथा भवन क्षति भएका छन् ।
सर्वसाधारणका एक लाख ३० हजार ४९३ घर पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख ३४ हजार ९६३ घर क्षति भएका छन् ।
पूर्वाञ्चलमा ५२ जनाको मृत्यु र ३०९ जना घाइते, मध्यमाञ्चलमा छ हजार १४९ मृत्यु र १३ हजार ३५ घाइते, पश्चिमाञ्चलमा ४१८ मृत्यु र एक हजार १९७ घाइते र मध्यपश्चिमाञ्चलमा दुईको मृत्यु र २५ घाइते भएका छन् ।
गृह मन्त्रालयका अनुसार सुदूर पश्चिमाञ्चलमा भूकम्पबाट सात वटा सरकारी कार्यालय आंशिक क्षति भएका छन् भने सर्वसाधारणका छ घरमा आंशिक क्षति भएको छ । सो क्षेत्रमा कुनै पनि मानवीय क्षति भने भएको छैन ।
प्रतिक्रिया