तातोपानीमा फसेकाको अझै उद्धार भएन

इनेप्लिज २०७२ वैशाख १८ गते ११:०९ मा प्रकाशित

tatopani-bajarबनेपा, १८ वैशाख । सिन्धुपाल्चोक जिल्लाको तातोपानी कोदारी चौकी डाँडामा फसेकाहरुको अझै उद्धार हुन सकेको छैन ।

सो क्षेत्रमा अधिकांश बिरामीको हेलिकप्टरमार्फत उद्धार भए पनि अझै करिब ३५० जना अलपत्र परेको राष्ट्रिय अनुसन्धान विभाग सिन्धुपाल्चोकका प्रमुख अनुसन्धान अधिकृत उत्तम खनालले जानकारी दिनुभयो ।

त्यहाँ अलपत्र परेकामध्ये काठमाडौँस्थित ज्ञानेश्वर ग्यालेक्सी बोर्डिङ स्कुलको दश जोड दुईमा अध्यापन गराउने छ शिक्षक पनि रहेका छन् । दश जनाको टोली चीनको खासा बजार घुम्न गएकामा एक जना स्कुलका गाडी चालक कृष्णबहादुर खड्काको मृत्यु भएको र अन्यको हेलिकप्टरमार्फत उद्धार भएको स्कुलका प्राचार्य एवं सभासद् गीता राणाले जानकारी दिनुभयो ।

उहाँले सो टोली तीन दिनदेखि सम्पर्कविहीन भएको र एक बालिकाको हेलिकप्टरमार्फत उद्धार भएपछि भ्रमण टोलीमा रहेकाहरु सुरक्षित अवस्थामा रहेको खबर पाएको बताउनुभयो । प्रमुख अनुसन्धान अधिकृत खनालले धेरैजसोको उद्धार गरिएको र त्यस क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या पनि झन्डै ४०० भएको अनुमान गर्दै कोदारी राजमार्गमा पहिराले आएको अवरोध हटाउने काम तीव्र भएको बताउनुभयो । अहिले पनि सो क्षेत्रमा उद्धारको काम भइरहेको छ।

खनालका अनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ७१ पुगेको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।

प्रतिक्रिया